पोखरा । कास्की निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उत्तमप्रसाद पौडेलले पोखरामा निर्माणाधीन सेती नदी पुल र फिर्के खोला पुलको स्थलगत अनुगमन गर्नुभएको छ ।
२०८३ असोज २९ गते उहाँले पोखरा महानगरपालिका-९, पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन पुल तथा पोखरा महानगरपालिका-४ र ५ जोड्ने फिर्के खोला पुलको निरीक्षण गर्नुभएको हो ।
अनुगमनका क्रममा सांसद पौडेलले दुवै आयोजनाको भौतिक प्रगति, निर्माणको गुणस्तर, समयमै काम सम्पन्न गर्न देखिएका समस्या र चुनौतीबारे जानकारी लिनुभएको थियो ।
मुग्लिङ-पोखरा सडक योजना (पश्चिम खण्ड) का प्रमुख कृष्णबहादुर कुँवर र सडक डिभिजन पोखराका प्रमुख कृष्णराज अधिकारीले आयोजनाको वर्तमान अवस्था र आगामी कार्ययोजनाबारे जानकारी गराउनुभएको थियो ।
सेती नदी पुलको निर्माण ७० प्रतिशत सम्पन्न
पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन पुलको काम करिब ७० प्रतिशत सम्पन्न भएको र आगामी दुईदेखि तीन महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्य रहेको जानकारी गराइएको छ ।
चीनबाट आवश्यक जनशक्ति ल्याउनुपर्ने र चिनियाँ कामदारले इन्जिनियरिङबाहेकका अन्य काम गर्न नसक्ने अवस्थाका कारण निर्माणमा केही ढिलाइ भएको बताइएको छ ।
ठेक्का सम्झौताको अवधि सकिएपछि म्याद थप्नुपर्ने अवस्था सिर्जना भएको विषयमा समेत अनुगमनका क्रममा छलफल भएको थियो ।
सांसद पौडेलले पुल क्षेत्रमा बारम्बार दुर्घटना हुने गरेको उल्लेख गर्दै निर्माण कार्यलाई शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले मूल्यवृद्धिका कारण आगामी दिनमा निर्माण हुने पुलको लागत करिब दोब्बर हुन सक्ने अवस्था रहेको पनि बताउनुभयो ।
चाडपर्वका समयमा आवागमन सहज बनाउन तथा दुर्घटना न्यूनीकरण गर्न आवश्यक सतर्कता अपनाउनसमेत उहाँले आग्रह गर्नुभयो ।
फिर्के खोलामा आधुनिक पुल निर्माण गरिने
पोखरा महानगरपालिका-३ र ५ जोड्ने फिर्के खोला पुल निर्माणका लागि नयाँ योजना अघि बढाइने भएको छ ।
पुरानो पुलको ठेक्का तोडिएपछि उत्पन्न विवादका कारण करिब १० देखि १२ वर्षदेखि निर्माण कार्य रोकिएको थियो ।
पुरानो डिजाइन तथा ठेक्का सम्झौतासम्बन्धी विवाद समाधानको दिशामा अघि बढेकाले डिजाइन परिमार्जन गरी नयाँ ठेक्का प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको जानकारी गराइएको छ ।
नयाँ योजनाअनुसार आकर्षक डिजाइनमा पुल निर्माण गर्नुका साथै दुवैतर्फ पैदलयात्रीका लागि फुटपाथ बनाउने र आसपासको क्षेत्रलाई सुन्दर तथा व्यवस्थित बनाउने लक्ष्य राखिएको छ ।
आगामी मङ्सिरसम्म टेन्डर आह्वान गरी नियमअनुसार निर्माण प्रक्रिया अघि बढाउने तयारी रहेको बताइएको छ ।
अनुगमनमा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला सुरक्षा समितिका पदाधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सम्बन्धित आयोजना तथा कार्यालयका प्रमुख र प्राविधिक प्रतिनिधिसहित स्थानीय सञ्चारकर्मीहरूको सहभागिता थियो ।
सांसद पौडेलले निर्माण कार्यलाई तीव्रता दिन, गुणस्तरमा सम्झौता नगर्न तथा स्थानीय नागरिकले भोग्नुपर्ने असुविधालाई ध्यानमा राखेर निर्धारित समयमै आयोजना सम्पन्न गर्न सम्बन्धित निकाय र निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ ।