मानव आवाज

२०८३ असोज २९ गते
00: 00: 00
२०८३ असोज २९ गते

चाडपर्वमा स्वस्थ खानपानमा ध्यान दिन प्रजिअ गुरुङको आग्रह

पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले चाडपर्वका बेला आफ्नो जन्मथलोको संरक्षण र प्रवर्धनसँगै स्वस्थ खानपानमा ध्यान दिन आग्रह गर्नुभएको छ ।

उहाँले व्यवसायीलाई स्वच्छ र मर्यादित रूपमा व्यवसाय सञ्चालन गर्न तथा बजार अनुगमनलाई सकारात्मक रूपमा लिन पनि अनुरोध गर्नुभयो ।

पोखरा चेम्बर अफ कमर्स, कास्कीले नेपालीहरूको महान् चाडपर्वको अवसरमा २०८३ असोज २९ गते पोखरा-५, मालेपाटनस्थित चेम्बर सचिवालयमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ गुरुङले पछिल्लो समय चाडपर्व मनाउने शैलीमा परिवर्तन आएको र मानिसहरू चाडपर्वका बेला पनि विदेश वा सहर केन्द्रित हुने क्रम बढेको बताउनुभयो । उहाँले आफ्नै जन्मथलोको संरक्षण र प्रवर्धनमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

बजार व्यवस्थापन र उपभोक्ता अधिकारका विषयमा बोल्दै उहाँले सरकारले नियमित रूपमा बजार अनुगमन गरिरहेको जानकारी दिनुभयो ।

व्यवसायीको हित संरक्षण, व्यवसाय प्रवर्धन, उपभोक्ताको हित र शान्ति सुरक्षा कायम गर्न प्रशासन प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

“सरकार सधैँ व्यवसायीहरूको हितमा छ ।”-उहाँले भन्नुभयो-“व्यवसाय प्रवर्धनका साथसाथै उपभोक्ताको हित र शान्ति सुरक्षा कायम राख्न प्रशासन पूर्ण रूपमा प्रतिबद्ध छ । आइपर्ने असहज र अप्ठ्यारा परिस्थितिलाई सहज बनाउनु हामी सबैको साझा दायित्व हो ।”

उहाँले बजार अनुगमनपछि व्यवसाय सञ्चालनमा सुधार हुँदै जानु सकारात्मक र प्रशंसनीय पक्ष भएको पनि बताउनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, संस्थाका पूर्वअध्यक्ष यमनाथ पौडेल, लेखनाथ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य, संस्थाका सल्लाहकार योगेन्द्रबहादुर केसी, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष भानु भण्डारीलगायतको उपस्थिति थियो ।

महिला चेम्बर अफ कमर्स, कास्कीकी अध्यक्ष जमुना पौडेलले नेपाली समाजले विभिन्न विपत्ति र दुःखलाई बिर्सँदै एकआपसमा हातेमालो गरेर नयाँ आशा र ऊर्जाका साथ अघि बढ्न सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले चाडपर्वले सबैमा एकता, सद्भाव र अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना दिनुभयो ।

पोखरा चेम्बर अफ कमर्स, कास्कीका अध्यक्ष उमराज बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव गोकर्ण अधिकारीले गर्नुभएको थियो भने उपाध्यक्ष नवराज आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, संस्थाका पूर्वअध्यक्ष, पदाधिकारी र उद्योगी व्यवसायीहरूको सहभागिता थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार