पोखरा । औषधि व्यवसायमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, अनावश्यक छुट र गुणस्तर नियन्त्रणका चुनौती समाधान गर्दै जनसेवालाई प्राथमिकता दिन औषधि व्यवसायीहरूले जोड दिएका छन् ।
औषधिजस्तो संवेदनशील क्षेत्रमा आर्थिक लाभभन्दा जनस्वास्थ्य र सेवाभावलाई सर्वोपरि राख्नुपर्ने उनीहरूको भनाइ छ ।
नेपाल औषधि व्यवसायी सङ्घ, गण्डकी प्रदेश समितिको चौथो साधारणसभा तथा ‘गण्डकी औषधि दर्पण-३’ को विमोचन एवम् पुस्तक परिचय कार्यक्रम २०८३ असोज २६ गते पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रममा औषधि व्यवसायीहरूको पेसागत सुरक्षा, गुणस्तरीय औषधिको नियमित आपूर्ति, बजारमा देखिएका चुनौती तथा व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धाका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रमको उद्घाटन नेपाल औषधि व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेलवालले पानसमा दीप प्रज्वलन तथा ब्यानरमा हस्ताक्षर गरेर गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष खण्डेलवालले नेपालको औषधि बजारमा पसलको सङ्ख्या र जनसङ्ख्याबीचको अनुपातले व्यवसायको दिगोपनमा चुनौती थपिएको बताउनुभयो ।
ग्राहकको सङ्ख्याको तुलनामा औषधि पसल धेरै हुँदा दैनिक कारोबार घट्ने र भाडा, बिजुली तथा कर्मचारीको खर्च धान्नसमेत कठिन हुने अवस्था रहेको उहाँको भनाइ थियो ।
व्यवसाय टिकाइराख्न व्यवसायीबिच अस्वाभाविक छुट दिने प्रवृत्ति बढ्दा समग्र औषधि व्यवसाय नै धराशायी बन्न सक्ने उहाँले बताउनुभयो ।
नेपालमा औषधिको मूल्य अन्य विकसित मुलुकको तुलनामा सस्तो रहेको उल्लेख गर्दै उहाँले सरकारले निर्धारण गरेको अधिकतम खुद्रा मूल्य तथा प्रचलित कानुनी व्यवस्थाको पालना गरी औषधि बिक्रीवितरण गर्नुपर्नेमा जोड दिनुभयो ।
औषधिको गुणस्तर कायम राख्ने, सरसफाइमा ध्यान दिने तथा म्याद गुज्रिएका औषधिको उचित व्यवस्थापन गर्ने दायित्व राज्य र व्यवसायी दुवैको रहेको उहाँले बताउनुभयो ।
नेपालमा बिक्रीवितरण हुने औषधि औषधि व्यवस्था विभागमा दर्ता भई स्वीकृत भएको हुनुपर्ने उल्लेख गर्दै उत्पादकले तोकेको गुणस्तर कायम गरे नगरेको अनुगमनमा पनि सबै पक्ष जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो ।
सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
नेपाल औषधि व्यवसायी सङ्घ, गण्डकी प्रदेश समितिले व्यावसायिक हकहितसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
सङ्घको स्थापना दिवसका अवसरमा पोखरा महानगरपालिका-१४ स्थित शहीद स्मृति आवासीय माध्यमिक विद्यालय र बैदामस्थित वडा प्रहरी कार्यालयमा स्वास्थ्य तथा खेलकुद सामग्री वितरण गरिएको थियो ।
त्यस्तै, पोखरा-६ लेकसाइडस्थित ‘हाम्रो परिवार नेपाल’मा रहेका १ सय जना दुर्व्यसनपीडित युवाको स्वास्थ्य परीक्षण गर्नुका साथै ५० हजार रुपियाँ बराबरका स्वास्थ्य सामग्री वितरण गरिएको सङ्घले जनाएको छ ।
सङ्घले जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित लागुऔषध नियन्त्रण तथा सचेतनामूलक कार्यक्रममा पनि निरन्तर सहभागिता जनाउँदै आएको छ ।
औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ३ संशोधन तथा उपदफा ५ खारेज गर्नुपर्ने मागसहित केन्द्रबाट आह्वान गरिएका आन्दोलनका कार्यक्रममा प्रदेश समितिले ऐक्यबद्धता जनाएको थियो ।
यस क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राङ्गणमा शान्तिपूर्ण धर्ना दिनुका साथै जिल्ला शाखाहरूले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउने र धर्ना दिने कार्यक्रम सञ्चालन गरेका थिए ।
व्यवसायीबिच तथा औषधि कम्पनी र व्यवसायीबिच देखिने आन्तरिक समस्यालाई सङ्घको विधान र नियमानुसार मेलमिलापमार्फत समाधान गर्ने कामसमेत भइरहेको जनाइएको छ ।
औषधि व्यवसायलाई प्रविधिमैत्री बनाउने योजना
सङ्घले आगामी वर्ष गण्डकी प्रदेशमा औषधि व्यवस्था विभागको कार्यालय स्थापना गर्न आवश्यक पहल गर्ने योजना अघि सारेको छ ।
प्रदेशअन्तर्गतका सम्पूर्ण औषधि व्यवसायीको विवरण डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने तथा जिल्लाका कोषाध्यक्ष र सहकोषाध्यक्षलाई लेखासम्बन्धी क्षमता अभिवृद्धि तालिम दिने योजना पनि सार्वजनिक गरिएको छ ।
त्यसैगरी, व्यवसायीको क्षमता विकासका लागि आवश्यक बजेट व्यवस्थापन तथा समन्वय गर्न केन्द्रीय समितिलाई अनुरोध गर्ने, कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग र फार्मेसी व्यवसायका चुनौतीसम्बन्धी तालिम सञ्चालन गर्ने तथा औषधि व्यवसायमा कार्यरत कर्मचारीका लागि भण्डार व्यवस्थापन (इन्भेन्टरी म्यानेजमेन्ट) तालिम सञ्चालन गर्न प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गर्ने योजना रहेको सङ्घले जनाएको छ ।
पत्रकारसहित विभिन्न व्यक्ति तथा संस्था सम्मानित
कार्यक्रममा औषधि व्यवसाय तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्ति र संस्थालाई सम्मान गरिएको थियो ।
गण्डकी मेडिसिल्स प्रालिकी पुष्पादेवी श्रेष्ठ र नयाँलिपि डटकमका प्रमुख सुरज श्रेष्ठलाई समाचार सम्प्रेषणमार्फत औषधि व्यवसाय क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
पत्रकारितामा २०५७/०५८ देखि निरन्तर सक्रिय रहँदै विभिन्न राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएका श्रेष्ठको योगदानको कार्यक्रममा चर्चा गरिएको थियो ।
त्यसैगरी, पर्वत जिल्ला शाखाका अध्यक्ष पाण्डवबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो भने उत्कृष्ट जिल्ला शाखाका रूपमा स्याङ्जा जिल्ला शाखा सम्मानित भएको थियो ।
कार्यक्रममा जिल्ला अध्यक्ष धीरज गौतम, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बाँस्तोला, नेपाल पशुपन्छि औषधि व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष विष्णु गौतम, नेपाल औषधि थोक व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष हिमलाल काफ्ले तथा नेपाल औषधि बिक्री प्रतिनिधि सङ्घका केन्द्रीय अध्यक्ष निरज पन्तलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी, पोखरा उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, सल्लाहकार रामबहादुर केसी, निवर्तमान अध्यक्ष कृष्णप्रसाद पाण्डे, केन्द्रीय समितिका महासचिव श्रीधर खनाल, केन्द्रीय उपाध्यक्षद्वय यामनाथ पौडेल र टङ्कप्रसाद अधिकारी, वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेल तथा स्मारिका प्रकाशन समिति संयोजक लक्ष्मीनारायण पराजुलीलगायतले संस्थाका गतिविधि र व्यवसायका चुनौतीबारे धारणा राख्नुभएको थियो ।
साधारणसभामा महासचिव सञ्जीव देवकोटा क्षेत्रीले प्रगति प्रतिवेदन तथा आगामी वर्षको कार्ययोजना र कोषाध्यक्ष सुरेन्द्रकुमार अग्रवालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
छलफलपछि दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको निवर्तमान अध्यक्ष कृष्णप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
नेपाल औषधि व्यवसायी सङ्घका अध्यक्ष केशरीप्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दयानिधि पौडेलले स्वागत मन्तव्य र महासचिव सञ्जीव देवकोटा क्षेत्रीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।