मानव आवाज

२०८३ असोज २७ गते
00: 00: 00
२०८३ असोज २७ गते

स्थानीयको पहलमा चम्किँदै अम्बासगढी, असोज २५ गते राष्ट्रिय झण्डा राखिँदै

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका-१० स्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको अम्बासगढी स्थानीयवासीको सक्रियतामा संरक्षण तथा सौन्दर्यीकरण गर्न थालिएको छ ।

गढीको ऐतिहासिक पहिचान संरक्षण, धार्मिक तथा सांस्कृतिक महत्त्वको प्रवर्धन र पर्यटन विकास गर्ने उद्देश्यले युवा एकता समाजको पहलमा स्थानीयवासी अभियानमा जुटेका हुन् ।

अभियानअन्तर्गत गढी परिसरमा रङरोगन गर्ने, लुङ्दा लगाउनेलगायतका काम भइरहेका छन् । साथै, गढी परिसरमा २०८३ असोज २५ गते नेपालको विशाल राष्ट्रिय झण्डा स्थापना गर्ने तयारी गरिएको छ ।

झण्डा राख्न आवश्यक पोल स्थापना गर्ने कामसमेत सम्पन्न भइसकेको स्थानीय सोमराज भोलनले जानकारी दिनुभयो ।

उहाँका अनुसार २०८३ असोज २५ गते गढी परिसरमा राष्ट्रिय झण्डा स्थापना गर्ने कार्यक्रम तय गरिएको छ । स्थानीयवासीको सामूहिक पहलमा अघि बढाइएको यस अभियानले अम्बासगढीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ ।

स्थानीयको श्रम, सहभागिता र सहकार्यमा अघि बढिरहेको अभियानले सार्वजनिक तथा ऐतिहासिक सम्पदाको संरक्षणमा समुदायको भूमिका महत्त्वपूर्ण हुने सन्देश दिएको छ ।

गढी परिसरको सौन्दर्यीकरण र विशाल राष्ट्रिय झण्डाको स्थापनाले यस क्षेत्रको आकर्षण बढाउनुका साथै राष्ट्रिय पहिचानप्रतिको सम्मान अभिव्यक्त गर्ने विश्वास गरिएको छ ।

ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको अम्बासगढीको संरक्षण र प्रवर्धनमार्फत यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको स्थानीयको भनाइ छ ।

स्थानीयस्तरबाट सुरु गरिएको यस अभियानले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुका साथै भावी पुस्ताका लागि ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षण गर्नसमेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार