मानव आवाज

२०८३ असोज २३ गते
00: 00: 00
२०८३ असोज २३ गते

पोखरामा माइक्रोबस दुर्घटना, विद्यार्थीको मृत्यु भएपछि छानबिन समिति गठन

पोखरा। पोखरा महानगरपालिका-२८, माझठानामा माइक्रोबस दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएपछि पोखरा महानगरपालिकाले घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गरेको छ ।

महानगरपालिकाले २०८३ असोज २३ गते बिहान करिब ७:४० बजे माझठानाको शारदा कालिका मावितर्फ जाँदै गरेको ग १ ख १४१७ नम्बरको बस दुर्घटनामा परी चार जना विद्यार्थी सहित पाँच जनाको निधन भएको तथा १४ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै छानबिन समिति गठन गरेको जनाएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलद्वारा जारी विज्ञप्तिअनुसार दुर्घटनामा ज्यान गुमाएका विद्यार्थीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा आवश्यक सहयोगका लागि पनि महानगरपालिकाले प्रतिबद्धता जनाएको छ ।

घाइतेहरूको पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

घटनाको सत्यतथ्य पत्ता लगाउन तथा आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक उपाय र सुझावसहित प्रतिवेदन पेस गर्न महानगरपालिकाले पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिको संयोजकमा वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदी रहनुभएको छ । सदस्यहरूमा महानगर शिक्षा समितिका सदस्य डोलराज पाण्डे, मेकानिकल इन्जिनियर सरोज चालिसे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई रहनुभएको छ ।

समितिले दुर्घटनाको कारण र परिस्थितिबारे छानबिन गरी भविष्यमा यस्ता घटना न्यूनीकरणका लागि सुझाव दिने अपेक्षा गरिएको छ ।

चार विद्यार्थी र एक वृद्धको मृत्यु

कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा चार विद्यार्थी र एक वृद्ध छन् ।

दुर्घटनामा १५ वर्षीया ममता तिवारी, करिब १४ वर्षीय अशिम कँडेल, १५ वर्षीया सुवेच्छा तिवारी र पोखरा-२८ निवासी ६५ वर्षीय बाबुराम तिवारीको मृत्यु भएको हो । मृत्यु भएकी करिब १५ वर्षीया अर्की बालिकाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

बसमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरू परीक्षाको तयारीका लागि ट्युसन पढ्न जाँदै थिए । बसमा चालकसहित करिब २१ जना सवार रहेको प्रारम्भिक विवरण छ ।

दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको गण्डकी मेडिकल कलेज र अन्य घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी मेडिकल कलेजमा पोखरा-२८ सौर्यका १६ वर्षीया सृष्टि तिवारी, १६ वर्षीय शिसन थापा मगर र डाँडागाउँका १६ वर्षीय सौगात तिमिल्सिनाको उपचार भइरहेको छ ।

उहाँहरूलाई टाउको, ढाड, कम्मर र खुट्टामा चोट लागेको छ। उनीहरूको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ ।

त्यस्तै, गण्डकी अस्पतालमा पोखरा-२८ माझठानाका १५ वर्षीया अस्मी कँडेल, १३ वर्षीया सोनिया तिवारी, १३ वर्षीय अङ्कित पराजुली, १६ वर्षीया स्नेहा तिवारी, १४ वर्षीया आकृति बुढाथोकी, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया सुप्रिया आचार्य र १६ वर्षीय यमन मगरको उपचार भइरहेको छ।

मादी गाउँपालिका-१२, पहिरेका १४ वर्षीया स्नेहा खत्री र १५ वर्षीया स्मृति खत्री तथा पोखरा–१५ निवासी ५७ वर्षीय बस चालक तुलबहादुर गुरुङको पनि गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार