मानव आवाज

२०८३ असोज २२ गते
00: 00: 00
२०८३ असोज २२ गते

पोखरा बहुमुखी क्याम्पसमा युवा लक्षित अपराध नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम

पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी लागुऔषध दुर्व्यसन तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय, कास्कीको आयोजनामा असोज २२ गते पोखरा महानगरपालिका-९ स्थित शान्तिवन बाटिकामा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले युवामा बढ्दो लागुऔषध दुर्व्यसन र त्यसबाट निम्तिन सक्ने अपराधका घटनाबारे सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

उहाँले युवामा सकारात्मक सोचको विकास गर्नुका साथै जीवनको लक्ष्य निर्धारण गर्न उत्प्रेरित गर्न कार्यक्रम प्रभावकारी हुने अपेक्षा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चित्राङ्गत बरालले ‘म सक्छु, गर्दछु-जीवनको लक्ष्य प्राप्त गर्ने कला’ विषयमा प्रस्तुति दिनुभएको थियो ।

उहाँले युवालाई जीवनोपयोगी सीप, लक्ष्य निर्धारण तथा सकारात्मक सोचका विषयमा जानकारी दिनुका साथै शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहसँग सम्बन्धित कानुनी प्रावधान तथा सजायबारे समेत सहजीकरण गर्नुभएको थियो ।

क्याम्पस प्रमुख शिशुकला पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राध्यापक तथा सञ्चारकर्मी भानुभक्त पराजुलीले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । सहायक क्याम्पस प्रमुख महेन्द्रप्रसाद रिमालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी, जिल्ला प्रशासन कार्यालयका कर्मचारी, सञ्चारकर्मी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

आयोजकले क्याम्पसस्तरमा सञ्चालन गरिने यस्ता सचेतनामूलक कार्यक्रमले युवालाई लागुऔषध दुर्व्यसन र अपराधबाट जोगिन तथा जीवनको लक्ष्यप्रति सचेत हुन सहयोग पुग्ने अपेक्षा गरेको जनाएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार