पोखरा । नजिकिँदै गरेको बडा दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यात्रुहरूको आवतजावतलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन कास्कीका सात ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा मातहतका प्रहरी कार्यालयको सहकार्यमा असोज २१ गतेदेखि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
पोखरा महानगरपालिका-९ स्थित पृथ्वीचोकमा आयोजित कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले सहायता कक्षको उद्घाटन गर्नुभयो ।
उहाँले चाडपर्वका समयमा यात्रुहरूको सुरक्षित, सहज र व्यवस्थित आवतजावतमा सहायता कक्षले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यात्राका क्रममा आमनागरिक स्वयम् पनि सचेत र सजग रहनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले चाडपर्वका समयमा हुन सक्ने सम्भावित दुर्घटना तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न सहायता कक्ष प्रभावकारी हुने बताउनुभयो ।
उहाँका अनुसार बढी भाडा असुली, टिकटमा कालोबजारी, ठगी, चोरी तथा डकैतीजस्ता गतिविधि नियन्त्रण गर्नुका साथै यात्रुलाई आवश्यक सूचना उपलब्ध गराउने र उनीहरूका गुनासोको तत्काल सुनुवाइ गरी सुरक्षित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन सहायता कक्ष सञ्चालन गरिएको हो ।
कास्कीमा पोखरा महानगरपालिका-३१ बेगनास बसपार्क, वडा नं. २७ तालचोक, वडा नं. ९ पोखरा बसपार्क, वडा नं. १७ छोरेपाटन बरकोबोट, वडा नं. ७ टुरिस्ट बसपार्क, वडा नं. २ बागलुङ बसपार्क र वडा नं. १ हरिचोकमा यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।
यात्राका क्रममा कुनै सहयोग, सूचना वा गुनासो भएमा नजिकैको यात्रु सहायता कक्षमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।
त्यस्तै, कुनै आपराधिक वा शङ्कास्पद गतिविधिबारे जानकारी भएमा तत्काल प्रहरी कन्ट्रोल १०० वा ट्राफिक प्रहरी १०३ मा सम्पर्क गर्न सम्पूर्ण यात्रु तथा आमनागरिकलाई अनुरोध गरिएको छ ।
कार्यक्रममा चार ओटै सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, स्थानीय नागरिक, समाजसेवी, नागरिक अगुवा तथा यातायात व्यवसायीलगायतको उपस्थिति थियो ।