पोखरा । विपद् पूर्वतयारीलाई सुदृढ बनाउँदै सुरक्षाकर्मी तथा सम्बद्ध निकायबिचको संयुक्त परिचालन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पोखरा महानगरपालिका-६ स्थित कोमागाने पार्कमा आगलागी नियन्त्रण तथा उद्धारसम्बन्धी संयुक्त नमुना अभ्यास गरिएको छ ।
जिल्ला सुरक्षा समिति कास्कीको आयोजना, रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सहयोगमा २०८३ असोज २१ गते आगलागी विपद्को अवस्थामा गरिने खोज, उद्धार तथा नियन्त्रणसम्बन्धी कृत्रिम अभ्यास गरिएको हो ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विपद् व्यवस्थापनमा सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सङ्घसंस्थाबीचको सहकार्य महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले आगलागीजन्य विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी र सचेतना आवश्यक रहेको बताउँदै अभ्यासले स्थानीयस्तरमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
प्रजिअ गुरुङका अनुसार जिल्लामा हुनसक्ने सम्भावित विपद्को पूर्वतयारीलाई प्रभावकारी बनाउने, स्थानीयस्तरमा विपद्सम्बन्धी सचेतना अभिवृद्धि गर्ने तथा सुरक्षाकर्मी र सम्बद्ध निकायको दक्षता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
सुख्खा मौसम सुरु हुन लागेको अवस्थामा आगलागीजन्य विपद्को जोखिम बढ्न सक्ने भएकाले पूर्वतयारीलाई विशेष प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले स्थानीयस्तरमा विपद्सम्बन्धी सचेतना बढाउनुका साथै सुरक्षाकर्मीको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त नमुना अभ्यास गरिएको बताउनुभयो ।
कार्यक्रममा कालिका गण, मालेपाटनका सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काले आगलागीका घटनामा तत्काल गरिने परिचालन तथा खोज तथा उद्धारका विधिबारे प्रस्तुति दिनुभएको थियो ।
नमुना अभ्यासका क्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा सम्बद्ध निकायका जनशक्तिबिच संयुक्त परिचालन, आगलागी नियन्त्रण तथा खोज तथा उद्धारसम्बन्धी अभ्यास गरिएको थियो ।
सो अवसरमा रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराका अध्यक्ष बसन्त गौतमले सामाजिक उत्तरदायित्वअन्तर्गत आपत्कालीन अवस्थामा प्रयोग गर्न ११ सेट अग्नि सुरक्षा सामग्री कास्कीका प्रमुख जिल्ला अधिकारी गुरुङलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रमको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारी, पर्यटन व्यवसायी, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष, सामाजिक अभियन्ता, रेडक्रसकर्मी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।