काठमाडौं । बज्जिका प्रज्ञा प्रतिष्ठान नेपालको आयोजना तथा त्रिमूर्ति एकेडेमीको समन्वयमा बज्जिका भाषाको कृति लोकार्पण तथा दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिष्ठानका अध्यक्ष इन्द्रजीत सहनीको अध्यक्षतामा भएको कार्यक्रममा रामचन्द्र कुशवाहा महतोद्वारा लिखित बज्जिका भाषाको कृति ‘हमर जीवन’ लोकार्पण गरिएको छ । कार्यक्रममा बज्जिका भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्धनका विषयमा चर्चा गरिएको थियो ।
कार्यक्रममा बज्जिका भाषामा विद्यावारिधि गरिरहनुभएका रवि यादवलाई सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष सहनी र बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष एवम् बज्जिका भाव शिरोमणि रामचन्द्र कुशवाहाले यादवलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।
त्यस्तै, साइकल यात्रामार्फत नेपालका विभिन्न स्थानको भ्रमण गरिरहेका युवा करन सहनी ‘राइडर करन’लाई पनि सम्मान गरिएको थियो । उहाँलाई अध्यक्ष सहनी र प्रतिष्ठानका सचिव सविन खनालले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि विन्दा साहनीले बज्जिका भाषाको भौगोलिक तथा सांस्कृतिक विस्तारबारे चर्चा गर्दै बज्जिका भाषा गङ्गा नदीदेखि उत्तर, मधेश प्रदेशको जनकपुरदेखि पश्चिम र वीरगञ्जदेखि पूर्वसम्म फैलिएको बताउनुभयो ।
उहाँले बज्जिका भाषालाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन भएका प्रयासको चर्चा गर्दै युवालाई बज्जिका साहित्य लेखनमा सक्रिय हुन आग्रह गर्नुभयो ।
विशिष्ट अतिथि रामचन्द्र कुशवाहाले सर्लाही बज्जिका साहित्य समाजले बज्जिका भाषाको संरक्षण र संवर्द्धनमा निरन्तर काम गरिरहेको बताउनुभयो ।
उहाँले बज्जिका भाषालाई आधारभूत तहको पाठ्यक्रममा समावेश गर्न पाठ्यक्रम विकास केन्द्रसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।
प्रतिष्ठानका अध्यक्ष सहनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठानले गरेका गतिविधि र समन्वयबारे जानकारी गराउँदै चार महिनाको प्रगति प्रतिवेदन समेत सार्वजनिक गर्नुभएको थियो ।
उहाँले प्रतिष्ठानले अध्ययन तथा अनुसन्धानको कामलाई निरन्तरता दिने र आगामी कार्यक्रम रौतहटमा आयोजना गर्ने जानकारी दिनुभयो ।
उहाँले विक्रम संवत् २०८३ लाई ‘बज्जिका वर्ष’ का रूपमा मनाइरहेको उल्लेख गर्दै बज्जिका भाषा तथा साहित्यसँग सम्बन्धित सङ्घसंस्थालाई वर्षभरि विभिन्न कार्यक्रम गर्न आह्वान गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष अञ्जली पटेल, सहसचिव निरज रेग्मी, कोषाध्यक्ष मोनिका महतो, जेन्जी अभियन्ता युवराज मुखिया, भाग्यनारायण यादव, जगत नारायण यादव, राजेन्द्र राय यादव, देवेन्द्र कर्ण, रौशन कुमार साह, श्यामा मगराती लगायत मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका भाषाप्रेमी, साहित्यकार तथा युवाको सहभागिता थियो ।
कार्यक्रम सञ्चालन रौशनकुमार यादवले गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरूले दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदानसमेत गरेका थिए ।