मानव आवाज

२०८३ असोज १९ गते
00: 00: 00
२०८३ असोज १९ गते

दशैंको किनमेलदेखि मनोरञ्जनसम्म, चापागाउँमा सस्तो बजार महोत्सव हुँदै

स्थानीय व्यापार प्रवर्धनसँगै कला, संस्कृति र बाल मनोरञ्जनलाई प्राथमिकता

ललितपुर । दशैंको किनमेल, स्थानीय उत्पादनको प्रवर्धन र सांस्कृतिक मनोरञ्जनलाई एउटै थलोमा जोड्ने उद्देश्यले ललितपुरको गोदावरी नगरपालिका-१० चापागाउँस्थित झ्यालुङ्टार मिनी रङ्गशालामा ‘गोदावरी चापागाउँ दशैं सस्तो बजार महोत्सव-२०८३’ आयोजना गरिएको छ ।

चाडपर्वका लागि आवश्यक सामग्री सुपथ मूल्यमा उपलब्ध गराउनेदेखि स्थानीय प्रतिभालाई मञ्च प्रदान गर्ने र बालबालिकालाई मनोरञ्जन दिलाउनेसम्मका गतिविधि समेटेर महोत्सव आयोजना गर्न लागिएको हो ।

लिनियर मिडिया प्रा.लि. तथा औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा २०८३ असोज २१ गतेदेखि २०८३ कात्तिक १ गतेसम्म महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ ।

दशैंको चहलपहल बढ्ने समयमा स्थानीय बासिन्दालाई किनमेलका लागि सहज वातावरण उपलब्ध गराउनुका साथै व्यापारिक गतिविधि विस्तार गर्ने लक्ष्य लिएको आयोजकले जनाएको हो ।

महोत्सवमा लत्ताकपडा, जुत्ताचप्पल, घरायसी सामग्री तथा दैनिक उपभोग्य वस्तुको प्रदर्शनी र बिक्री गरिनेछ । यसै अवसरमा नेपाल खाौ संस्थानले सुपथ मूल्य पसल पनि सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ ।

स्थानीय उत्पादन तथा व्यापारिक सामग्रीलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । एउटै स्थानमा विभिन्न प्रकारका सामग्री उपलब्ध हुँदा उपभोक्तालाई दशैंको किनमेलमा सहज हुने र स्थानीय व्यवसायीले आफ्ना उत्पादन तथा सामग्रीको बजार विस्तार गर्ने अवसर पाउने अपेक्षा गरिएको छ ।

महोत्सवलाई किनमेलमा मात्र सीमित नराखी मनोरञ्जन र प्रतिभा प्रदर्शनको साझा मञ्चका रूपमा समेत विकास गर्न खोजिएको छ ।

कार्यक्रममा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको सांस्कृतिक प्रस्तुति रहनेछ भने बालबालिकाका लागि विभिन्न रोमाञ्चक खेलसहितको बाल उद्यान सञ्चालन गरिनेछ ।

स्थानीय प्रतिभाको पहिचान र प्रोत्साहनका लागि खुला नृत्य प्रतियोगितासमेत आयोजना गरिने आयोजकले जनाएको छ ।

यसले स्थानीय कलाकार तथा नवप्रतिभालाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै महोत्सवलाई सांस्कृतिक गतिविधिसँग जोड्ने अपेक्षा गरिएको छ ।

चाडपर्वका बेला बढ्ने उपभोक्ताको मागलाई ध्यानमा राखेर आयोजना गर्न लागिएको महोत्सवले चापागाउँ क्षेत्रको व्यापारिक गतिविधि चलायमान बनाउन र स्थानीय बजारको प्रवर्धनमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

किनमेल, कलासंस्कृति र पारिवारिक मनोरञ्जनलाई एकै ठाउँमा समेट्ने महोत्सवले दशैंको उल्लासलाई स्थानीय समुदायसँग जोड्ने अपेक्षा आयोजकको छ ।

Author

सम्बन्धित समाचार