पोखरा । जलवायु परिवर्तनका चुनौतीबीच स्थानीय कृषि उत्पादनको वृद्धि, रैथाने खाद्य परिकारको संरक्षण र जलवायु अनुकूलित खेती प्रणालीको प्रवर्धन गर्ने उद्देश्यले तनहुँको म्याग्दे गाउँपालिका-७ हर्षपुरमा एकदिने स्थानीय कृषि प्रदर्शनी तथा खाद्य मेला-२०८३ सम्पन्न भएको छ ।
चिल्ड्रेन नेपाल र डिब डेनमार्कको आर्थिक सहयोग तथा म्याग्दे गाउँपालिकाको समन्वयमा सञ्चालित ‘जलवायु उत्थानशील समाज विकास परियोजना’ अन्तर्गत २०८३ असोज १७ गते जलवायु उत्थानशील कृषक समूह हर्षपुर र कुर्लेचौर तथा महिला उद्यमी समूहको आयोजनामा मेला सम्पन्न भएको हो ।
‘जलवायु मैत्री खेती गरौँ, स्थानीय उत्पादन बढाऔँ, स्वस्थ परिवार, समृद्ध किसान र दिगो समाज बनाऔँ’ भन्ने नाराका साथ आयोजित मेलामा स्थानीय कृषकले उत्पादन गरेका कृषि उपज, रैथाने खाद्य परिकार तथा जलवायु अनुकूलित खेती प्रणालीको प्रदर्शन गरिएको थियो ।
मेलाले स्थानीय उत्पादनको बजारीकरण, परम्परागत खाद्य संस्कृतिको संरक्षण र किसानको सीप तथा उद्यमशीलता प्रवर्धनमा जोड दिएको थियो ।
मेलाको उद्घाटन गर्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले स्थानीय समुदायको घरआँगनमै कृषि उत्पादन, खाद्य परिकार तथा किसानका गतिविधि प्रदर्शन गरिनु कृषि क्षेत्रप्रतिको सम्मान र प्रोत्साहनको सकारात्मक अभ्यास भएको बताउनुभयो ।
उहाँले मेला तथा प्रदर्शनीमार्फत स्थानीय उत्पादनको प्रवर्धन, जलवायु मैत्री कृषि अभ्यासको विस्तार र किसानलाई उत्पादनसँगै उद्यमशीलतामा जोड्न सकिने उल्लेख गर्नुभयो ।

कृषि क्षेत्रको विकास, उत्पादन वृद्धि तथा बजारीकरणका लागि गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत विकास परियार, चिल्ड्रेन नेपालका अध्यक्ष शान्त पौडेल, कार्यक्रम निर्देशक शिव शर्मा चापागाईं र कार्यक्रम संयोजक दुमनाथ शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उहाँहरूले जलवायु परिवर्तनका चुनौती सामना गर्न अनुकूलित खेती प्रणाली अपनाउनुपर्नेमा जोड दिँदै स्थानीय कृषकले गरेको प्रयासको प्रशंसा गर्नुभयो ।
चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले कार्यक्रम सफल बनाउन समन्वय र सहकार्य गर्ने म्याग्दे गाउँपालिका तथा स्थानीय उत्पादनको प्रवर्धनमा सक्रिय कृषकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
मेलामा जलवायु परिवर्तन र त्यसले पार्ने प्रभावबारे जनचेतना जगाउने सन्देशमूलक सडक नाटक, गीत तथा विभिन्न कला र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
कार्यक्रमले कृषि उत्पादनसँगै जलवायु परिवर्तनका असरबारे समुदायमा सचेतना अभिवृद्धि गर्न सहयोग पुर्याएको आयोजकले जनाएका छन् ।
जलवायु उत्थानशील कृषक समूहका अध्यक्ष चन्द्रबहादुर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समूहका सदस्य नरबहादुर आलेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको विषयवस्तुबारे प्रकाश पार्नुका साथै सञ्चालन रजनी थापा र मनबहादुर परियारले गर्नुभएको थियो ।
मेलामा स्थानीय जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी, आमा समूह तथा उपभोक्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।