काठमाडौं । यस वर्षको मनसुन नेपालबाट क्रमशः बाहिरिन थालेको छ । कृषि वन तथा पर्यावरण मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारसम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागबाट मनसुन पूर्ण रूपमा बाहिरिएको छ ।
देशका बाँकी भूभागमा भने मनसुनी वायुको प्रभाव कायमै रहेको छ। महाशाखाले केही दिनभित्रै ती क्षेत्रबाट पनि मनसुन बाहिरिने सम्भावना रहेको जनाएको छ ।
महाशाखाले २०८३ असोज १७ गते बिहान ११ बजे जारी गरेको मनसुन बहिर्गमनसम्बन्धी विशेष बुलेटिनअनुसार देशको पश्चिमी तथा उत्तरी केही भूभागबाट मनसुन बाहिरिए पनि मध्य तथा पूर्वी नेपालमा यसको प्रभाव अझै कायम छ ।
मनसुनी वायु क्रमशः कमजोर हुँदै गएकाले बाँकी भूभागबाट पनि केही दिनमै मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपालमा सामान्यतया जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा बाहिरिने गर्छ । यद्यपि, वर्षैपिच्छे मनसुनको आगमन र बहिर्गमनमा केही दिनको फरक पर्ने गरेको छ ।