मानव आवाज

२०८३ असोज १७ गते
00: 00: 00
२०८३ असोज १७ गते

छोरेपाटन प्रहरी चौकी मर्मतमा सहयोग गर्नेलाई सम्मान, थुनुवा कक्ष उद्घाटन

पोखरा । स्थानीय समुदायको सहयोगमा पोखरा महानगरपालिका-१७ स्थित छोरेपाटन प्रहरी चौकीको मर्मत सम्भार तथा निर्माण कार्य सम्पन्न भएको छ ।

चौकीको मर्मत सम्भार तथा निर्माणमा सहयोग गर्ने व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गर्नुका साथै परिसरमा नवनिर्मित थुनुवा कक्षको उद्घाटन गरिएको छ ।

छोरेपाटन प्रहरी चौकी मर्मत सम्भार समितिको आयोजनामा २०८३ असोज १७ गते आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले थुनुवा कक्षको उद्घाटन गर्दै स्थानीय समुदाय, सुरक्षा निकाय र प्रशासनिक निकायबिचको सम्बन्ध अझ सुदृढ हुन आवश्यक रहेको बताउनुभयो ।

उहाँले स्थानीय नागरिकले स्वतःस्फूर्त रूपमा श्रमदान, भौतिक तथा आर्थिक सहयोगमार्फत प्रहरी चौकीको सुधारमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै सार्वजनिक संरचनाको संरक्षण र प्रवर्धन गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो ।

प्रहरी उपरीक्षक कार्कीले पछिल्लो समय आमनागरिकको प्रहरीप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको उल्लेख गर्दै नागरिक र प्रहरीबिच सहकार्य तथा विश्वासको वातावरण आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रहरी नागरिकबाट प्राप्त सही सूचना र सहयोगबिना प्रभावकारी रूपमा काम गर्न नसक्ने उल्लेख गर्दै उहाँले नागरिकले सत्य र तथ्यमा आधारित सूचना प्रहरीलाई उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

सामाजिक सञ्जालमा भ्रामक तथा तथ्यहीन समाचार र भिडियो प्रसारण हुने क्रम बढेकाले त्यसले प्रहरीका लागि थप चुनौती सिर्जना गरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका-१७ की वडाध्यक्ष राधिकाकुमारी शाही, वडा नं. २१ का अध्यक्ष दीपक सुवेदी, वडा नं. २२ का अध्यक्ष हिमलाल बराल, वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटी, छोरेपाटन माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा तथा बेलघारी टोल विकास संस्थाका अध्यक्ष बुद्धिबहादुर कार्कीले प्रहरी चौकीको संरक्षण र प्रवर्धनमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँहरूले वडा नं. १७, २१ र २२ क्षेत्रमा कार्यरत प्रहरी प्रशासन आमनागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएकाले प्रहरी चौकीको विकासमा सबैको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।

मर्मत सम्भार समितिका अनुसार चौकीको मर्मत सम्भार तथा निर्माण कार्यका लागि कुल ९ लाख ६२ हजार १ सय ९१ रुपियाँ आम्दानी भएको थियो भने ९ लाख ५८ हजार ८ सय ७० रुपियाँ खर्च भएको छ । खर्च कटाएर ३ हजार ३ सय २१ रुपियाँ मौज्दात रहेको समितिले जनाएको छ ।

चौकीमा खानेपानी ट्याङ्की, शौचालय, थुनुवा कक्ष, पानी निकास, किचेन तथा भुइँमा टायल राख्नेलगायतका मर्मत तथा निर्माण कार्य गरिएको छ ।

कार्यक्रममा मर्मत सम्भार तथा निर्माण कार्यमा सहयोग गर्ने ७५ जना व्यक्ति तथा विभिन्न सङ्घसंस्थालाई विभिन्न विधामा सम्मान गरिएको थियो ।

छोरेपाटन प्रहरी चौकी मर्मत सम्भार समितिका अध्यक्ष शिवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक गौतम श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव दीपक सुवेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा स्थानीय सामाजिक सङ्घसंस्थाका पदाधिकारी, नागरिक, आमा समूह, टोल विकास संस्थाका प्रतिनिधि, व्यापारी तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार