पोखरा । तेस्रो पुम्दीभुम्दी खुला पर्वतीय दौडको तयारी अन्तिम चरणमा पुगेको छ । ‘खेल पर्यटन प्रवर्धनमा पुम्दीभुम्दी पर्वतीय दौड’ भन्ने नारासहित आगामी असोज २४ गते आयोजना हुने प्रतियोगितामा करिब ३ सय जना धावक सहभागी गराउने लक्ष्य आयोजकले लिएको छ ।
विश्व पर्यटन दिवसको सन्दर्भ पारेर पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा हुन लागेको प्रतियोगिताबारे २०८३ असोज १७ गते पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
प्रतियोगितामार्फत खेलकुदका माध्यमबाट गाउँ पर्यटनसँगै स्थानीय कृषि, अर्थतन्त्र र पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उद्देश्य रहेको कार्यक्रम संयोजक दीननाथ बरालले बताए ।
आयोजकका अनुसार प्रतियोगितामा २ सय ५० देखि ३ सय जना धावक सहभागी गराउने लक्ष्य राखिएकोमा हालसम्म ८० जनाले नाम दर्ता गराइसकेका छन् । १८ देखि २० जिल्लाका धावकको सहभागिता सुनिश्चित भइसकेको बरालले जानकारी दिए ।
आठ किलोमिटर दूरीको दौड विश्वशान्ति स्तूपबाट सुरु हुनेछ । धावकहरू पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति परिक्रमा गर्दै पोखरा महानगरपालिका-२२ को वडा कार्यालय हुँदै न्यालडाँडास्थित कालाबाङ घरेडी बुद्ध पार्कमा पुगेर दौड समापन हुनेछ ।
प्रतियोगितामा खुला, वडास्तरीय खुला, महिला, यू-१६, विदेशी र भेट्रान गरी ६ ओटा विधा समावेश गरिएको छ ।
खुलातर्फ प्रथम हुने धावकले ५० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेलाई क्रमशः ३० हजार, १५ हजार, ७ हजार र ३ हजार रुपियाँ प्रदान गरिनेछ। छैटौँदेखि दसौँ स्थानसम्म दूरी पूरा गर्ने धावकलाई जनही १ हजार रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
वडास्तरीय खुला, महिला र यू-१६तर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः १५ हजार, ७ हजार र ३ हजार रुपियाँ नगदसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
विदेशी धावकतर्फ विजेताले १५ हजार र उपविजेताले ७ हजार रुपियाँ तथा भेट्रानतर्फ विजेताले १५ हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुन इच्छुक धावकले पोखरा क्लिकमार्फत अनलाइन फाराम भर्न सक्नेछन् । आयोजकका अनुसार असोज २१ गते राति १२ बजेसम्म नाम दर्ता गर्न सकिनेछ ।
नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्धनमा तथा प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका-२२ को सहकार्यमा प्रतियोगिता आयोजना हुन लागेको हो ।
प्रतियोगिताको मेडिकल पार्टनर नेलम्बो नेपाल, हस्पिटल पार्टनर मेडिप्लस एन्ड ट्रमा सेन्टर र इन्स्योरेन्स पार्टनर युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड रहेका छन् ।
त्यस्तै, हस्पिटालिटी पार्टनर म्याजेस्टिक लेक फ्रन्ट होटल एन्ड सुइट्स, अफिसियल टेलिभिजन पोखरा टेलिभिजन र आधिकारिक ड्रिङ्किङ वाटर नेलेचुरल स्प्रिङ वाटर रहेका छन् ।
प्रतियोगिताको पहिलो संस्करणमा बेलायत र ब्राजिलसहित विभिन्न देशका ७१ पुरुष र ३३ महिला गरी १ सय ४ जनाले अनलाइन फाराम भरेका थिए ।
प्रतिकूल मौसमका कारण ७९ जना सहभागी भएका थिए । दोस्रो संस्करणमा भने आठ देशका १ सय ९६ जना धावक सहभागी भएको आयोजकले जनाएको छ ।