पोखरा । असल छिमेकी सहयोग सङ्घ (गोनेसा) नेपालको २४औँ साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
‘मानवताको लागि मिलेर सेवा गरौँ’ भन्ने मूल नाराका साथ बालबालिकाको क्षेत्रमा क्रियाशील गोनेसाले २०८३ असोज १६ गते पोखरामा साधारण सभा तथा सामाजिक परीक्षण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सामाजिक सङ्घसंस्थाहरू राष्ट्रको समृद्धिका सहयात्री भएको बताउनुभयो ।
उहाँले नेपालको विकासमा गैरसरकारी संस्थाहरूले महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै संस्थाहरूलाई पारदर्शिता र जबाफदेहितामा अझ बलियो बन्न आग्रह गर्नुभयो ।
गोनेसाका अध्यक्ष एवम् वरिष्ठ अधिकारकर्मी रामप्रसाद सुवेदीका अनुसार गोनेसाले २०५६ सालदेखि अनौपचारिक तथा सुकुम्बासी बस्तीमा बसोबास गर्ने बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, जीविकोपार्जन, सरसफाइ, जलवायु परिवर्तन तथा सामाजिक-आर्थिक रूपान्तरणका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।
संस्थाले यस वर्ष बालबालिकाका लागि चोरसाँघुमा नयाँ बालविकास भवन र नयाँबजार शान्तिवनमा अर्को भवन निर्माण सम्पन्न गरेको छ ।
रातोपैरामा रहेको बालविकास भवनलाई पोखरा महानगरपालिका-१७ को आर्थिक सहयोगमा मर्मत तथा स्तरोन्नति गरिएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो।
गोनेसाका १२ ओटा बालविकास केन्द्रमार्फत प्रारम्भिक बाल विकास कार्यक्रम सञ्चालन भइरहेको छ । यसअन्तर्गत २ वर्ष ६ महिनादेखि पाँच वर्ष उमेर समूहका करिब २ सय ७६ बालबालिकाले सेवा लिएका छन् ।
त्यस्तै, न्यून आय भएका तथा विपन्न परिवारका ३ सय ७८ बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराई शिक्षा निरन्तरताका लागि आवश्यक सहयोग गरिएको छ । सहयोग प्राप्त गर्नेमा १ सय ७३ बालक र २ सय ५ बालिका रहेका छन् ।
संस्थाले बालबालिकालाई विद्यालय पोशाक, झोला, स्टेशनरी तथा परामर्श सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
स्थापना भएदेखि हालसम्म गोनेसाको सहयोगबाट १ हजार ६८ जनाले विद्यालय शिक्षा पूरा गरी उच्च अध्ययन तथा विभिन्न पेसामा आबद्ध भएको अध्यक्ष सुवेदीले बताउनुभयो ।
स्वास्थ्य सेवातर्फ यस आर्थिक वर्षमा संस्थाको स्वास्थ्य क्लिनिकबाट १ हजार ३ सय जनाले उपचार सेवा लिएका छन् ।
त्यस्तै, १ सय ४३ जनालाई मणिपाल शिक्षण अस्पताल, तीन जनालाई पोषण पुनःस्थापना केन्द्र, चार जनालाई आँखा अस्पताल र एक जनालाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका लागि पठाइएको संस्थाले जनाएको छ ।
सामाजिक परीक्षण विज्ञ एवम् सामाजिक अभियन्ता नारायण पौडेलले आर्थिक वर्ष २०८२/०८३ मा संस्थाले सञ्चालन गरेका गतिविधि, उपलब्धि र सिकाइका विषयमा सामाजिक परीक्षण प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुतिपछि सरोकारवाला, अभिभावक, शिक्षक तथा बालबालिकाले संस्थाका गतिविधिबारे सुझावसहित धारणा राखेका थिए ।
गोनेसाले बालविकास केन्द्र सञ्चालन, पोषण, अभिभावक सचेतना, सहजकर्ताको तालिम, केन्द्र मर्मत तथा पुनःनिर्माण, विद्यालय भर्ना सहयोग, स्वास्थ्य सेवा, सामुदायिक विकास, जलवायु उत्थानशीलता तथा अनुकूलन, दिवस विशेष कार्यक्रम र नागरिक समाजका संस्था तथा सञ्जालसँग समन्वयलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
साधारणसभामा महासचिव श्यामनाथ कुँवरले प्रगति प्रतिवेदन तथा आगामी वर्षको कार्ययोजना र कोषाध्यक्ष निरमाया गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
दुवै प्रतिवेदन छलफलपछि सर्वसम्मत रूपमा पारित भएको कार्यकारी निर्देशक शिवराज शर्माले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८३/८४ का लागि बालविकास, विद्यालय भर्ना, जलवायु उत्थानशीलता तथा अनुकूलन र संस्थागत विकासलाई प्राथमिकतामा राखिएको छ ।
साधारणसभामा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका अध्यक्ष बसन्त गौतम, संस्थाका सल्लाहकार धनेश्वर रखाल, सदस्य विमलबहादुर कुँवर, सदस्य कृष्णबहादुर कुँवर तथा चोरसाँघु बालविकास केन्द्र व्यवस्थापन समितिका अध्यक्ष ईश्वर सापकोटालाई विभिन्न क्षेत्रमा प्राप्त उपलब्धि तथा सामाजिक योगदानका लागि सम्मान गरिएको थियो ।
जानकी माध्यमिक विद्यालय, महतगौडामा कक्षा १० मा अध्ययनरत समीर चौधरीलाई छात्रवृत्तिसमेत प्रदान गरिएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका-७ का अध्यक्ष राममोहन आचार्य, पोखरा महानगरपालिका-१७ का वडा सदस्य विक्रम गुरुङ, पोखरा-२५ का वडा सदस्य कृष्णबहादुर कुँवर, रेवान पोखराका अध्यक्ष बसन्त गौतम, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका अधिकृत अर्जुनबहादुर क्षेत्री, जानकी माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन कँडेल, गैरसरकारी संस्था महासङ्घ नेपाल कास्कीका उपाध्यक्ष सरोजनारायण बराललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
गोनेसाका अध्यक्ष रामप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य केशकुमारी भुजेलले स्वागत तथा कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने महासचिव श्यामनाथ कुँवरले सञ्चालन गर्नुभएको थियो ।