कमठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बहुमत प्राप्त वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभाको २०८३ असोज १५ गतेको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले जनताले खोजेको बलियो सरकारले ‘कमजोर शासन’ सञ्चालन गरिरहेको भन्दै नेतृत्वको कार्यकुशलतामाथि प्रश्न उठाउनुभएको हो ।
नेता आङदेम्बेले जनादेशको सम्मान गर्दै मुलुकलाई स्थिरता र समृद्धिको दिशामा लैजानुपर्नेमा सरकार ‘झिना-मसिना’ मुद्दामा अल्झिरहेको टिप्पणी गर्नुभयो ।
सरकारसँग पाँच वर्षका लागि प्राप्त स्पष्ट बहुमत भएपनि त्यसको सदुपयोग गरी आम नागरिकको जीवनस्तर उकास्ने दिशामा शासकीय कार्यकुशलताको अभाव देखिएको उहाँको भनाइ छ ।
उहाँले सरकारको पछिल्लो ६ महिनाको गतिविधिलाई ‘सङ्क्रमणकालीन अवस्थाको निरन्तरता’ को संज्ञा दिँदै यसले विकास र अग्रगमनको सपनालाई ‘मृगतृष्णा’ बनाउने खतरा औँल्याउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले परिवर्तन र सुशासन खोजेका हौँ, तर अहिलेको सरकारको क्रियाकलापबाट शासन कुनै निश्चित विधि र सिद्धान्तबाट निर्देशित नभई नेतृत्वको इच्छा र लहडमा चलेको आभास हुन्छ ।’
आङदेम्बेले सरकार सञ्चालनको शैलीमा संस्थागत विधि र परम्पराको उल्लङ्घन भइरहेको आरोपसमेत लगाउनुभयो ।
उहाँले राजकीय व्यवहारमा देखिएको असन्तुलन र अनुभवहीनताले गर्दा मुलुकले सही दिशा लिन नसकेको बताउनुभयो ।