पोखरा । पोखरा-दुबई नियमित अन्तर्राष्ट्रिय उडानका लागि पोखराका पर्यटन तथा ट्राभल व्यवसायीले लामो समयदेखि एयरलाइन्ससँग गरेको सहकार्यलाई बेवास्ता नगर्न र सबै व्यवसायीलाई समान अवसर सुनिश्चित गर्न आग्रह गरिएको छ ।
पोखराका ट्राभल तथा पर्यटन व्यवसायीहरूले पोखरा-दुबई उडान सञ्चालनका लागि फ्लाईदुबईसँग निरन्तर वार्ता, संवाद र सहकार्य गर्दै पोखराबाट यात्रु सुनिश्चित गर्न सकिने तथा टिकट बिक्री र यात्रु व्यवस्थापनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको बताएका छन् ।
उडान सुरु भएपछि पनि यात्रु जुटाउने, टिकट बिक्री गर्ने, यात्रा योजना बनाउने तथा भिसा र आवश्यक कागजातमा सहजीकरण गर्ने काममा पोखराका ट्राभल एजेन्सीहरूको प्रत्यक्ष योगदान रहँदै आएको उनीहरूको भनाइ छ ।
पोखरामा १ सय ६५ भन्दा बढी टुर तथा ट्राभल कम्पनी सञ्चालनमा रहेको उल्लेख गर्दै व्यवसायीहरूले वर्षौँदेखि आफ्नै पूँजी, जनशक्ति, कार्यालय तथा पूर्वाधारमा लगानी गरेर पर्यटन क्षेत्रमा योगदान दिँदै आएको बताएका छन् ।
उनीहरूले पोखरा-दुबई उडानको सफलता कुनै एक व्यक्ति, संस्था वा कम्पनीको मात्र उपलब्धि नभई सरकार, एयरलाइन्स, पर्यटन व्यवसायी, ट्राभल कम्पनी, निजी क्षेत्र र यात्रुको सामूहिक प्रयासको परिणाम भएको बताएका छन् । जुनसुकै प्रकारको सिण्डिकेटको अन्त्य हुनुपर्नेमा उनीहरूको जोड रहेको छ ।
‘हामी कुनै एक कम्पनीको विरोधमा होइनौँ । हाम्रो आग्रह समान अवसर, निष्पक्ष व्यवहार र पोखराका सबै पर्यटन तथा ट्राभल व्यवसायीप्रतिको समान सम्मानको हो ।’-व्यवसायीहरूले भनेका छन् ।
उनीहरूले पोखरा-दुबई उडानलाई सफल र दिगो बनाउन सबै पर्यटन तथा ट्राभल व्यवसायीलाई साथ लिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
पोखराबाट अन्तर्राष्ट्रिय उडानको प्रवर्धनसँगै पोखरामा लगानी गरेका व्यवसायीको हित र सहभागिता सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ ।
व्यवसायीहरूले पोखरा-दुबई उडानलाई पोखराको साझा उपलब्धिका रूपमा लिएर यसको प्रवर्धन गर्न र यात्रुलाई पोखराबाटै यात्रा गर्न प्रोत्साहित गर्न सबै पक्षसँग आग्रह गरेका छन् ।
प्रचारको काममा राजनीतिक नेतृत्वको भूमिका महत्वपूर्ण हुने भएपनि व्यापारिक काममा उनीहरूले कसैलाई नजिक र कसैलाई टाढाको व्यवहार गर्न नहुने व्यवसायीको जोड छ ।