मानव आवाज

२०८३ असोज १५ गते
00: 00: 00
२०८३ असोज १५ गते

बामपन्थी नेता घनेन्द्र बस्नेतको निधन

काठमाडौं । नेकपा (एमाले) का तर्फबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वसांसद घनेन्द्र बस्नेतको निधन २०८३ असोज १४ गते भएको छ । क्यान्सरबाट पीडित बस्नेतको निधन भएको हो ।

बस्नेत २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका तर्फबाट संखुवासभा क्षेत्र नं. २ बाट उम्मेदवार भई निर्वाचित हुनुभएको थियो ।

त्यसपछि २०५६ सालमा भोजपुर क्षेत्र नं. १ बाट एमालेकै उम्मेदवार भई पुनः प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

झापा आन्दोलनका क्रममा राजबन्दीका रूपमा बस्नेतले १७ वर्षसम्म गोलघरसहित कारागारमा कठोर कैदी जीवन बिताउनुभएको थियो । उहाँले राजनीतिक तथा सामाजिक परिवर्तनका लागि लामो समय सङ्घर्ष गर्नुभएको थियो । २०३३ सालको चर्चित नख्खु जेल ब्रेक गर्ने बाम नेतामा उहाँ पनि एक हुनुहुन्थ्यो ।

बस्नेतको निधनप्रति विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रबाट दुःख व्यक्त गर्दै उहाँको सङ्घर्ष, त्याग र योगदानको स्मरण गरिएको छ । साथै, शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।

माधव नेपालद्वारा श्रद्धाञ्जली

(नेकपा समाजवादीका नेताहरूः घनेन्द्र बस्नेत डा बेदुराम भुसाल माधवकुमार नेताल घनश्याम भुसाल र प्रमेश हमाल बायाँबाट क्रमश । फाइल फोटो)

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले झापा आन्दोलनका योद्धा तथा पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

नेकपा एमालेबाट अलग्गिएर निर्माण गरिएको नेकपा एसका वरिष्ठ उपाध्यक्षसमेत हुनुभएका बस्नेतप्रति नेपालले श्रद्धाञ्जली व्यक्त गर्दै भन्नुभएको छ-‘तपाईं झापा आन्दोलनका योद्धा मात्र नभएर नेपालमा कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउने कठिन एवम् निष्ठापूर्ण अभियानका अविचलित नेता हो । हामी तपाईंको योगदानलाई उच्च सम्मानसहित सदैव सम्झिरहने छौँ ।’

बस्नेत नेकपा एस र माओवादीसहितको एकीकरणमा भने सामेल हुनुभएको थिएन ।  

नख्खु जेल ब्रेकसम्बन्धमा प्रदिप नेपालले लेख्नुभएको मुक्त आकाशको खोजीका ११ शृङ्‌खला सुन्न चाहनुहुन्छ भने तल दिइएको युट्युवको लिङ्‌क क्लिक गर्नुहोला ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार