कतिपय भेटहरू संयोग भएर आउँछन्, तर तिनको स्मृति जीवनभरको सम्पत्ति बनेर रहन्छ । प्राध्यापक डा. सुरेशराज शर्मालाई मैले सशरीर धेरैपटक देखेकी थिएँ । सार्वजनिक कार्यक्रमहरूमा, औपचारिक परिवेशमा उहाँको उपस्थिति देख्नु र एउटै स्थानमा रहनु आफ्नै ठाउँमा एउटा अनुभूति थियो । तर, उहाँसँग यसरी नजिकिएर, उहाँको घरको आत्मीय परिवेशमा बसेर घण्टौँ उहाँका कुरा सुन्न पाउने अवसर जीवनमा एकपटक मात्र आयो । त्यो पनि एउटा सुन्दर संयोगका रूपमा ।
त्यो संयोगको सूत्र थियो-नेपाल सरकारको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) का पूर्व सदस्य-सचिव श्री जीवनराज अधिकारीज्यूले लेख्नुभएको पुस्तक ‘जीवन गाथा’ । अधिकारीज्यूले उक्त पुस्तक डा. सुरेशराज शर्मासम्म पुर्याइदिने जिम्मेवारी हामी दम्पतीलाई दिनुभयो । पुस्तक हातमा पर्नेबित्तिकै हामी दुवैको मनमा एउटै प्रश्न उठ्यो-यो पुस्तक उहाँसम्म कसरी पुर्याउने ? म पहिले बानेश्वरस्थित उहाँको निवासमा धेरैपटक पुगेकी थिएँ । तर, समय फेरिएको रहेछ । उहाँ अब त्यहाँ बस्नुहुन्न भन्ने थाहा भयो । केही दिनको खोजीपछि उहाँको सम्पर्क नम्बर पत्ता लाग्यो । फोन गर्दा थाहा भयो-उहाँ धुलिखेलको हजारसिँढी नजिकै आफ्नै निवासमा विश्राम गरिरहनुभएको रहेछ ।
ठाउँ अपरिचित थियो । हामीसँग घरको ठेगाना पनि स्पष्ट थिएन । त्यसैले स्कुटीमा बाटो सोध्दै जानुभन्दा सार्वजनिक यातायातमै यात्रा गर्नु उचित ठान्यौँ । बिहान घरबाट खाना खाएर मयूर यातायात चढेर निस्किएका हामी करिब १ बजे धुलिखेल पुग्यौँ । त्यसपछि सुरु भयो अपरिचित ठाउँमा एउटा परिचित व्यक्तिको घर खोज्ने यात्रा । दुई-तीन ठाउँमा सोध्दै, उहाँले दिनुभएको सामान्य लोकेसनलाई आधार बनाउँदै अन्ततः हामी उहाँको निवासमा पुग्यौँ । त्यहाँ पुग्दा मनमा कुतुहलता पनि थियो, अलिकति सङ्कोच पनि । उहाँसँग सार्वजनिक रूपमा देखादेख त भएको थियो, तर यसरी घरमै गएर भेट्ने हाम्रो पहिलो अवसर थियो । उहाँले हामीलाई चिन्नुहुन्छ कि चिन्नुहुन्न, हामीलाई थाहा थिएन । तर, हामी एउटा जिम्मेवारी बोकेर गएका थियौँ । हामीसँग पुस्तक उहाँको हातमा पुर्याउने जिम्मेवारी थियो ।
निवास परिसरमा उस्तै स्वरूपका तीन ओटा घर रहेछन् । करिब तीन दशकअघि उहाँ आफैँले रोजेर निर्माण गर्नुभएको अत्यन्त व्यवस्थित र सुविधासम्पन्न निवास रहेछ । बाहिर आगन्तुकका लागि प्रतीक्षालय पनि थियो । तर, हामी त्यहाँ बस्नै परेनौँ । “सीटीइभीटीमा काम गर्नुहुन्छ ?” भन्ने आत्मीय प्रश्नसँगै उहाँले हामीलाई भित्र बोलाउनुभयो । त्यो क्षणदेखि औपचारिक भेटघाट क्रमशः आत्मीय संवादमा बदलिँदै गयो । सुरुमा सामान्य कुराकानी थियो । तर, विषय खुल्दै जाँदा समयको कुनै बोध रहेन । उहाँमा सीटीइभीटीप्रति असाध्यै गहिरो आत्मीयता रहेछ । मैले आफू पनि त्यही संस्थामा कार्यरत रहेको बताएपछि उहाँले देखाउनुभएको सम्मान र आत्मीयताले मलाई भित्रैदेखि छोयो ।
त्यतिबेला मैले महसुस गरेँ-संस्थाहरू भवन र कार्यालयले मात्र बन्दैनन् । तिनको पछाडि सपना देख्ने, विचार दिने र जीवन अर्पण गर्ने मानिसहरूको इतिहास हुन्छ । डा. सुरेशराज शर्मा त्यस्तै व्यक्तित्व हुनुहुन्थ्यो । नेपालमा प्राविधिक शिक्षाको संस्थागत विकासका लागि उहाँले पुर्याउनुभएको योगदान र उच्च शिक्षाको क्षेत्रमा उहाँले छोड्नुभएको छापलाई पद र जिम्मेवारीका आधारमा मात्र मापन गर्न सकिँदैन । काठमाडौं विश्वविद्यालयको स्थापनासँग जोडिएको उहाँको योगदान होस् वा सीटीइभीटी जस्तो संस्थाको विकासमा उहाँको भूमिका-यी सबै उहाँको शिक्षा-दृष्टि र राष्ट्र निर्माणप्रतिको प्रतिबद्धताका परिचायक थिए ।
हामी उहाँको घरमा केही समयका लागि मात्र पुगेका थियौँ । तर, कुराकानीले समयलाई रोकिदियो । चारैतिर साँझ ओर्लिन थालिसकेको थियो । हामी उहाँका विचार र अनुभवको उज्यालोमा बसिरहेका थियौँ । उहाँकी श्रीमतीले अत्यन्त आत्मीयताका साथ हामीलाई भोजन गराउनुभयो । हामीलाई सङ्कोच लाग्यो । यति विशिष्ट प्राज्ञिक व्यक्तित्वको घरमा अतिथिका रूपमा पुगेर यसरी भोजन ग्रहण गर्नु उपयुक्त होला कि नहोला भन्ने लागिरह्यो । मैले त खाना पकाउन र भाँडा माझ्नसमेत अघि सर्न खोजेँ । तर, उहाँहरूले हामीलाई त्यसो गर्न दिनुभएन ।
आतिथ्यमा औपचारिकता थिएन । आत्मीयता थियो । सँगै बसेर खायौँ । पारिवारिक कुराकानी भयो । नातिनातिनासम्मका प्रसङ्ग आए । सामूहिक तस्बिर खिच्यौँ । केही घण्टाअघि अपरिचितजस्तो लागिरहेको त्यो घरबाट बिदा हुने बेलासम्म हामीबिच एउटा आत्मीय सम्बन्धको अनुभूति जन्मिसकेको थियो । हामी बिदा हुन लाग्दा उहाँले सहजै सोध्नुभयो- “केमा आउनुभएको हो ?” हामीले सार्वजनिक यातायातमा आएको कुरा बतायौँ । उहाँले तत्कालै आफ्ना चालकलाई फोन गर्नुभयो र भन्नुभयो- “मेरो पनि बनेपा बजारसम्म जाने काम छ । उहाँहरूलाई पनि अलि परसम्म छोडिदिनू ।” हामीले सोचेका थियौँ-‘अलि पर’ भनेको सायद एक-दुई किलोमिटर होला । त्यति भए पनि त्यसबेला त्यो सहयोग हाम्रा लागि ठूलो राहत थियो । तर, उहाँको ‘अलि पर’ पनि उहाँकै आत्मीयताजस्तै फराकिलो रहेछ ।
गाडी अघि बढ्यो । ‘अलि पर’ भन्दै जाँदा उहाँले हामीलाई हाम्रो घर नजिकैसम्म पुर्याइदिनुभयो । त्यो यात्रा धुलिखेलदेखि काठमाडौंसम्मको यात्रामा मात्र सीमित रहेन । त्यो त एउटा महान् शिक्षाविद्को जीवनदृष्टि, अनुभव र आत्मीयतालाई नजिकबाट सुन्ने अवसर बन्यो । घरमा बिताएका करिब तीन घण्टा र बाटोमा बितेका लगभग दुई घण्टा-समयका हिसाबले पाँच घण्टाजति मात्र । तर, ती केही घण्टा अहिले सम्झँदा जीवनकै एउटा अमूल्य अध्यायजस्ता लाग्छन् । हामी उहाँलाई भेट्न गएका थियौँ-एउटा पुस्तक पुर्याउन ।
फर्किँदा उहाँको आत्मीयता, उहाँका विचार, उहाँको सरलता र उहाँसँग बिताएका ती अविस्मरणीय क्षणहरू पनि हामीसँग थिए ।
कहिलेकाहीँ जीवनमा ठूलो उपलब्धि कुनै दीर्घकालीन योजना वा ठूलो समारोहबाट आउँदैन । एउटा सानो जिम्मेवारीले मानिसलाई यस्तो व्यक्तित्वको सामीप्यमा पुर्याइदिन्छ, जहाँ केही घण्टाको भेट जीवनभर सम्झनुपर्ने स्मृति बनिदिन्छ । हाम्रो त्यो भेट पनि त्यस्तै एउटा दुर्लभ संयोग थियो । २०८३ असोज ७ गते डा. सुरेशराज शर्माको निधनको खबरले मन गहिरोसँग शोकाकुल भएको छ । राष्ट्रले एक प्राज्ञिक व्यक्तित्व, शिक्षाप्रेमी र दूरदर्शी शिक्षासेवी गुमाएको छ । तर, उहाँले शिक्षा क्षेत्रमा छोड्नुभएको योगदान, उहाँले निर्माण गर्न सहयोग पुर्याएका संस्थाहरू र उहाँसँग प्रत्यक्ष वा परोक्ष रूपमा जोडिएका असङ्ख्य मानिसहरूको स्मृतिमा उहाँ जीवित रहनुहुनेछ ।
मसँग भने उहाँको स्मृति अझ व्यक्तिगत छ । मसँग एउटा पुस्तक पुर्याउने जिम्मेवारी लिएर उहाँको घर पुगेको त्यो दिन छ । उहाँले मुस्कुराउँदै हामीलाई घरभित्र बोलाउनुभएको क्षण छ । सीटीइभीटीको नाम सुन्दा उहाँको आँखामा देखिएको आत्मीयता छ । सँगै खिचिएको पारिवारिक तस्बिर छ । र, सबैभन्दा ठूलो कुरा-उहाँसँग बसेर सुनेका ती पाँच घण्टाजति लामा संवादका प्रतिध्वनिहरू छन् । समय बित्दै जाँदा तस्बिरहरू पुराना होलान्, शब्दहरू धमिला होलान्, तर यो भेट कहिल्यै पुरानो हुँदैन । त्यो दिन हामीले उहाँको हातमा एउटा पुस्तक थमाएका थियौँ । उहाँले पुस्तकहरुमा पाइनेभन्दा असीमित अनुभव सुनाउनुभयो । उहाँले जीवन दर्शन बताउनुभयो । उहाँका अनुभवले हामी कृतज्ञ छौँ । श्रद्धेय डा. सुरेशराज शर्मा प्रति भावपूर्ण श्रद्धाञ्जली ।
(बिमला प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सानोठिमी भक्तपुरमा कार्यरत हुनुहुन्छ ।)