मानव आवाज

२०८३ असोज १२ गते
00: 00: 00
२०८३ असोज १२ गते

पर्वतीय दौड सफल बनाउन पर्यटन व्यवसायी एकजुट

पोखरा । पोखरामा आयोजना हुन लागेको तेस्रो पर्वतीय दौड प्रतियोगितालाई सफल बनाउन पोखराका पर्यटन व्यवसायी तथा पर्यटनसम्बद्ध सङ्घसंस्थाले आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा २०८३ असोज २४ गते हुने प्रतियोगिताका विषयमा असोज १२ गते पोखरामा आयोजित छलफलमा सहभागी पर्यटन व्यवसायी तथा सरोकारवालाले बाढीपहिरोलगायतका विपद्का कारण देश विषम परिस्थितिबाट गुज्रिरहेका बेला पनि प्रतियोगितालाई निरन्तरता दिनु सकारात्मक भएको भन्दै सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले खेलकुदसम्बन्धी कार्यक्रमले पोखराको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सहयोग पुग्ने बताउनुभयो ।

पर्यटन प्रवर्धनसँग प्रत्यक्ष जोडिएको प्रतियोगितालाई पोखराको वार्षिक पर्यटन क्यालेन्डरमा समावेश गर्नुपर्नेमा जोड दिँदै उहाँले धेरैभन्दा धेरै धावकलाई सहभागी गराउन आग्रह गर्नुभयो ।

टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले मौसमका कारण प्रतियोगिताको मिति परिवर्तन गर्नुपरेको अवस्थालाई ध्यानमा राख्दै आगामी वर्षदेखि प्रतियोगिताको मिति पहिल्यै निर्धारण गरी छुट्टै क्यालेन्डरमा समावेश गर्न सुझाव दिनुभयो ।

नाटा गण्डकीका अध्यक्ष संगीता पौडेलले पर्वतीय दौडमा अन्तर्राष्ट्रिय खेलाडीलाई सहभागी गराउन सके पोखराको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने बताउनुभयो ।

रेवान पोखराका अध्यक्ष बसन्त गौतमले प्रतियोगितामा स्वच्छता, सरसफाइ तथा विदेशी पर्यटकको सुविधालाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो ।

होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले सङ्घले विगतदेखि नै खेलकुद तथा पर्यटनसम्बन्धी कार्यक्रमलाई सहयोग गर्दै आएको उल्लेख गर्दै यस प्रतियोगितामा पनि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

उहाँले प्रतियोगितालाई पोखराको लेकसाइड वा ड्यामसाइडबाट सुरु गरी पुम्दीभुम्दी क्षेत्रसम्म जोड्न सकिने धारणा राख्नुभयो ।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष तथा पोखरा भ्रमण वर्षका निवर्तमान संयोजक गोपीबहादुर भट्टराईले पुम्दीभुम्दी क्षेत्रका पर्यटकीय गन्तव्यलाई जोडेर आयोजना हुने प्रतियोगितालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्ने बताउनुभयो ।

प्रतियोगिताका आकर्षक दृश्य समेटिएका रील्स तथा ड्रोन भिडियो निर्माण गरी सामाजिक सञ्जाललगायतका माध्यमबाट व्यापक प्रचारप्रसार गर्न उहाँले सुझाव दिनुभयो ।

एनटिभीएका अध्यक्ष रविप्रसाद आचार्यले देश बाढीपहिरोको पीडामा रहेका बेला अधिकांश राजमार्गसमेत प्रभावित भएको अवस्थामा प्रतियोगितालाई निरन्तरता दिन खोज्नु सकारात्मक भएको बताउनुभयो ।

पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले विषम परिस्थितिमा पनि प्रतियोगिता आयोजना गर्न लागेकोमा आयोजकलाई धन्यवाद दिँदै निर्धारित समयमै प्रतियोगिता सञ्चालन गर्न आग्रह गर्नुभयो ।

प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले तीनवटा महत्वपूर्ण पर्यटकीय गन्तव्यलाई एउटै दौडमार्फत जोडिएकाले पर्वतीय दौड अन्य सामान्य प्रतियोगिताभन्दा फरक र विशिष्ट प्रकृतिको रहेको बताउनुभयो ।

पोखरा प्रवर्धन केन्द्रका उपाध्यक्ष असफल गौतमका अनुसार आठ किलोमिटर दूरीको प्रतियोगिता पोखरा महानगरपालिका-२२ स्थित विश्वशान्ति स्तुपाबाट सुरु भई विशाल महादेवको मूर्ति (पुम्दीकोट), पोखरा-२२ वडा कार्यालय हुँदै कालाबाङ घरेडी बुद्धपार्कमा पुगेर सम्पन्न हुनेछ ।

प्रतियोगितामा खुला, महिला, यू-१६, विदेशी पर्यटक, भेट्रान्स र वडास्तरीय गरी ६ विधामा धावकले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितालाई सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, परिचय एड्भर्टाइजिङ, पोखरा महानगरपालिका-२२ वडा युवा परिषद्, स्थानीय क्लब, व्यवसायी तथा विभिन्न सङ्घसंस्थाको सहयोग रहेको प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिनुभयो ।

छलफलमा पोखरा पर्यटन परिषद्का महासचिव मिलन तिवारी, पर्यटनविद् दीपेन्द्र पहारी, एगा पोखराका अध्यक्ष गीता ढकाल पौडेल, ओटेफ गण्डकीका अध्यक्ष ममता न्यौपाने, मुद्रा सटही सङ्घका अध्यक्ष दीपकराज मिश्र, टेवान गण्डकीका अध्यक्ष शोभा पाण्डेलगायतले प्रतियोगिता सफल बनाउन आवश्यक सहजीकरण तथा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पोखरा प्रवर्धन केन्द्रका अध्यक्ष एवम् प्रतियोगिता संयोजक दीननाथ बरालको अध्यक्षतामा भएको छलफलमा पोखरा पर्यटन परिषद्, होटल सङ्घ पोखरा नेपाल, नाटा गण्डकी, टान गण्डकी, रेवान पोखरा, एनटिभीए, एगा पोखरा, ओटेफ गण्डकी, मुद्रा सटही सङ्घ, टेवान गण्डकीलगायत पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार