पोखरा । फेवातालमा पर्यटकको सुरक्षा तथा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन जेट-स्की बोट सञ्चालनमा ल्याइएको छ ।
विश्व पर्यटन दिवसको अवसर पारेर सशस्त्र प्रहरी बल कालिका गण, मालेमाटनले फेवातालमा जेट-स्की बोट सञ्चालनमा ल्याएको हो ।
फेवातालमा खोज तथा उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाउने उद्देश्यले ल्याइएको बोटको पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले एक कार्यक्रमबिच औपचारिक शुभारम्भ गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख आचार्यले जेट-स्की बोटको प्रयोगले फेवातालमा हुने खोज तथा उद्धार कार्य थप छिटो र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले जलयात्रालाई व्यवस्थित गर्न पोखरा महानगरपालिकाले बनाएको ऐन सोमबार राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आउने जानकारी दिँदै जलयात्राका क्रममा मापदण्डअनुसारको सुरक्षित लाइफ ज्याकेट प्रयोग गर्न आग्रह गर्नुभयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले फेवातालमा हुने जलसम्बन्धी गतिविधिमा सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताउँदै जेट-स्की बोटको सञ्चालनले सुरक्षा व्यवस्थामा थप टेवा पुग्ने बताउनुभयो ।
सशस्त्र प्रहरी बल कालिका गणका प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहका अनुसार जापानमा निर्मित तीन सिट क्षमताको जेट-स्की बोट खरिदका लागि करिब ४० लाख रुपियाँ खर्च भएको छ ।
उक्त बोटले प्रतिघण्टा १०५ किलोमिटरसम्मको दूरी पार गर्न सक्ने र करिब ६ देखि ७ घण्टासम्म लगातार सञ्चालन गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार जेट-स्की बोटबाट फेवातालमा दुर्घटना वा अन्य विपद् हुँदा तत्काल उद्धारमा पुग्न सहज हुनेछ ।
सशस्त्र प्रहरी बलले २०६९ सालदेखि फेवातालमा ‘फेवा वाच एन्ड रेस्क्यू टावर’ सञ्चालन गर्दै आएको छ ।
प्रहरी उपरीक्षक सिंहका अनुसार उक्त टावरमार्फत हालसम्म फेवातालबाट एक हजार ५८८ जनाको जीवितै उद्धार गरिएको छ भने ५३ जनाको शव निकालिएको छ ।
कार्यक्रममा फेवातालमा डुङ्गा सयर गर्दा प्रयोग गरिने सुरक्षित लाइफ ज्याकेटको परीक्षणसमेत गरिएको थियो ।