पोखरा । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम, नेपालअन्तर्गत गण्डकी क्षेत्रको क्लस्टर-७, रिजन-१५ तथा जोन २९ र ३० अन्तर्गतका पाँच ओटै क्लबको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
‘मानवताका लागि एकता’ भन्ने लायन वर्ष २०२६/२७ को थिमसहित नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै कार्यक्रम २०८३ असोज ९ गते पोखरा महानगरपालिका-१७, विरौटामा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम, नेपालका डिष्ट्रिक्ट गभर्नर पिएमजेएफ लायन रत्नप्रसाद पराजुलीले लायन वर्ष २०२६/२७ का क्लब पदाधिकारीलाई पदस्थापन गराउनुभयो ।
पदस्थापन कार्यक्रममा बोल्दै गभर्नर पराजुलीले लायन्स क्लबहरूबिच सहकार्य र पारदर्शिता बढाउनु सबैको साझा दायित्व भएको बताउनुभयो ।
राज्यलाई अप्ठ्यारो परेको समयमा सहयोग गर्नुका साथै समुदायसँग सामाजिक सहकार्य, समझदारी र मानवीय सेवाका क्षेत्रमा लायन्सले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उहाँले बताउनुभयो ।
सेवाको क्रममा विभिन्न चुनौती आए पनि त्यसलाई सामना गर्दै निरन्तर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले लायन्स अभियानलाई प्रभावकारी बनाउन एकता र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
नेतृत्वमा रहेका व्यक्तिहरू नैतिक आचरणमा बसे त्यसको सकारात्मक प्रभाव मातहतका क्लबहरूमा पनि पर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा डिष्ट्रिक्ट ३२५ एम, नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर पिएमजेएफ लायन चण्डीप्रसाद अर्याल, निवर्तमान डिष्ट्रिक्ट गभर्नर पिएमजेएफ लायन धनिराम बराल, फस्ट भिडीजी लायन किशोर बराल तथा डिष्ट्रिक्ट चिफ एड्भाइजर लायन शिवराज आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बालबालिकाहरुलाई खेलकुद तथा शैक्षिक सामाग्री जोन -२९ का लायन बलराम लामाको सहयोगमा भएको थियो ।
उहाँहरूले नयाँ जिम्मेवारीसँगै सशक्त नेतृत्व, प्रभावकारी सेवा र उत्कृष्ट टिमवर्कमार्फत लायन्सको सेवाभावलाई समुदायसम्म पुर्याउन आग्रह गर्नुभयो ।
नेतृत्वमा प्रतिबद्धता, सेवामा समर्पण र सहकार्यलाई एकीकृत गर्दै लायन्सको सेवा अभियानलाई थप प्रभावकारी बनाउनुपर्नेमा उहाँहरूको जोड थियो ।
कार्यक्रममा पाँच ओटै क्लबका लायन वर्ष २०२५/२६ का अध्यक्षहरूलाई बधाई तथा वर्ष २०२६/२७ का नवनिर्वाचित अध्यक्षहरूलाई सफल कार्यकालको शुभकामना दिइएको थियो । यो सत्रको अध्यक्षता लायन भिम आचार्यले गर्नुभएको थियो ।
नवनियुक्त अध्यक्षहरूले आगामी कार्यकालका योजना तथा कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।
क्लब तथा संस्थामा महत्वपूर्ण योगदान पुर्याएका तथा नेतृत्वदायी भूमिका निर्वाह गरेका व्यक्तिहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
कार्यक्रम लायन्स क्लब अफ पोखरा लेकसाइडका लायन वर्ष २०२५/२६ का अध्यक्ष लायन इन्द्रमान चौहानको अध्यक्षतामा सम्पन्न भएको हो । स्वागत मन्तव्य जोन-३० का चियरपसन धर्म थापाले गर्नु भएको थियो ।
क्लस्टर चिफ लायन सुरेश केसीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन रिजन चेयरपर्सन पिएमजेएफ लायन मेनका पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा रिजन-१५ अन्तर्गतका विभिन्न लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।