मानव आवाज

२०८३ असोज १० गते
00: 00: 00
२०८३ असोज १० गते

विद्यालय तहबाटै सङ्घीयता बुझाउन शिक्षकलाई अभिमुखीकरण

पोखरा । विद्यालय तहबाटै विद्यार्थीलाई सङ्घीयता, प्रदेश संरचना तथा प्रदेश सभाको भूमिका र कामकारबाहीबारे स्पष्ट जानकारी गराउने उद्देश्यले पोखरामा सामाजिक अध्ययन विषयका शिक्षकहरूलाई अभिमुखीकरण गरिएको छ ।

संसदीय पत्रकार मञ्चले युएनडिपी संसद सहयोग परियोजनासँगको सहकार्यमा शनिबार पोखराका दुई स्थानमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा पोखराका विभिन्न विद्यालयका ६० भन्दा बढी सामाजिक अध्ययन विषयका शिक्षक सहभागी थिए । सहभागीमध्ये ६० प्रतिशतभन्दा बढी महिला शिक्षक रहेको आयोजकले जनाएको छ ।

गण्डकी प्रदेश सभाले हालसम्म ९० भन्दा बढी कानुन निर्माण गरिसकेको छ । सालबसाली कानुन हटाउँदा अहिले ७० भन्दा बढी कानुन कायम छन् । प्रदेश सरकारले ती कानुनको कार्यान्वयन अवस्था अध्ययन तथा मूल्याङ्कन गरिरहेको छ ।

भद्रकाली माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सभाकी उपसभामुख बिनाकुमारी थापाले प्रदेश सभा र प्रदेश संरचना संघीयताको महत्वपूर्ण स्तम्भ भएको बताउनुभयो ।

‘जनताको सबैभन्दा नजिकको सरकार बनेर अहिले काम भइरहेको छ ।’-उहाँले भन्नुभयो- ‘सामाजिक अध्ययन विषयका शिक्षकहरूले विद्यार्थीमार्फत प्रदेशको महत्त्व र भूमिकाबारे सिङ्गो समाजलाई बुझाउन ठूलो सहयोग पुर्‍याउन सक्छन् ।’

विषयविज्ञ दिनेश अर्यालले संविधानका धारा, दफा र कानुनका जटिल प्रावधान घोकाउनेभन्दा विद्यार्थीलाई सहभागी गराएर तथा साना समूह बनाएर सिकाउँदा प्रभावकारी हुने बताउनुभयो ।

उहाँका अनुसार सङ्घीयतालाई व्यवहारिक र प्रयोगात्मक रूपमा सिकाउन सके विद्यार्थीले यसको औचित्य सहज रूपमा बुझ्न सक्छन् ।

दीपसागर होटलमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सभाका सचिव गोविन्द पौडेलले प्रदेश सभाको कामकारबाही र कानुन निर्माण प्रक्रियाबारे जानकारी गराउनुभयो ।

प्रदेशसभाले आफ्नो एकल अधिकारसँगै साझा अधिकारका सूचीमा रहेका विषयमा पनि कानुन निर्माण गरिरहेको उहाँले बताउनुभयो ।

‘हामीले औषधि तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीसम्बन्धी ऐन र स्थानीय मदिराको ब्रान्डिङसम्बन्धी ऐन निर्माण गरिसकेका छौँ ।’-पौडेलले भन्नुभयो-‘अहिले प्रदेश सरकारले तिनको नियमावली बनाउने काम गरिरहेको छ ।’

कानुन निर्माण गर्नु मात्रै पर्याप्त नभएको भन्दै पौडेलले त्यसको कार्यान्वयन प्रभावकारिता परीक्षण गर्न प्रदेश सभाले उत्तरविधायकी परीक्षणको काम थालेको बताउनुभयो ।

यसका लागि विभिन्न मन्त्रालयसँग कानुन कार्यान्वयनको विस्तृत विवरण माग गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा मुख्य न्यायाधिवक्ता एवम् वरिष्ठ अधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले नेपालको संविधान, सङ्घीय संरचना तथा प्रदेश सभाको काम, कर्तव्य, अधिकार र चुनौतीबारे सहजीकरण गर्नुभएको थियो ।

अभिमुखीकरणमा सहभागी शिक्षकहरूले सङ्घीयता र प्रदेश संरचनाको प्रभावकारिता तथा नागरिक चेतना अभिवृद्धिका लागि विद्यालय तहबाटै सही र स्पष्ट जानकारी दिनुपर्नेमा जोड दिए ।

कुण्डहर स्कुलका शिक्षक टेकबहादुर थापाले दृष्टिविहीन तथा श्रवण-दृष्टिविहीन विद्यार्थीलाई चित्र र ग्राफिक्सका माध्यमबाट अध्यापन गराउँदा कठिनाइ हुने बताउनुभयो ।

‘दृष्टिविहीन विद्यार्थीका लागि आवश्यक पाठ्यसामग्री र ब्रेल लिपिका पुस्तक सहजै उपलब्ध नहुँदा उनीहरूको सिकाइ सोचेजस्तो प्रभावकारी हुन सकेको छैन ।’-उहाँले भन्नुभयो ।

अमरज्योति स्कुलका प्रधानाध्यापक विमलबहादुर बरालले स्थानीय तहमा जस्तै प्रदेश तहमा पनि छुट्टै पाठ्यक्रम बनाएर विद्यालयमा लागू गर्नुपर्ने सुझाव दिनुभयो ।

रत्न पाण्डे माध्यमिक विद्यालयका शिक्षक डिलीराम बरालले मूल पाठ्यक्रममै परिमार्जन गरी प्रदेशका काम, कर्तव्य र अधिकारलाई विस्तृत रूपमा समेट्नुपर्ने बताउनुभयो ।

भद्रकाली माध्यमिक विद्यालयकी शिक्षिका देवका खनालले प्रदेश सभा र प्रदेश सरकारका गतिविधिबारे कार्यक्रमबाट थप जानकारी प्राप्त भएको बताउनुभयो । ‘प्राप्त जानकारीलाई अब विद्यार्थीले सजिलै बुझ्ने गरी कक्षाकोठामा प्रस्तुत गर्नेछु ।’-उहाँले भन्नुभयो ।

शीतला स्कुलका प्रधानाध्यापक देवेन्द्रराज परियारले यस्ता अभिमुखीकरणले सङ्घीयताबारे विद्यार्थीलाई बुझाउन शिक्षकलाई सहज बनाएको बताउनुभयो ।

महेन्द्र माध्यमिक विद्यालयका शिक्षक बोधराज पौडेलले संघीयता र प्रदेश सरकारका फाइदा तथा चुनौतीबारे स्पष्ट हुने अवसर प्राप्त भएको बताउनुभयो ।

ज्ञानभूमि माध्यमिक विद्यालयकी शिक्षिका निर्मला महानन्दले विद्यार्थीको सहभागिता बढाएर शिक्षण गर्न यस्ता कार्यक्रमले प्रेरित गर्ने बताउनुभयो ।

भद्रकाली माध्यमिक विद्यालयका शिक्षक राजेन्द्र भण्डारीले अभिमुखीकरणको वास्तविक प्रभाव कक्षाकोठामा देखिनुपर्ने भन्दै आयोजक संस्थाले कार्यक्रमपछि नियमित अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अमरसिंह माध्यमिक विद्यालयका सामाजिक अध्ययन शिक्षक उदयराज पोखरेललगायत अपाङ्गता भएका शिक्षकहरूको पनि सक्रिय सहभागिता थियो ।

संसदीय पत्रकार मञ्चका अध्यक्ष बिसन क्षेत्रीले कार्यक्रमको औचित्य र विषयवस्तुबारे प्रकाश पार्नुभएको थियो ।

मञ्चका पूर्वअध्यक्ष एवम् कार्यक्रम संयोजक भरत कोइरालाका अनुसार चालु वर्षमा मात्रै मञ्चले यस्ता तीन ओटा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिसकेको छ ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार