पोखरा । बालबालिका तथा सामाजिक क्षेत्रमा गरिएको लगानीको प्रतिफल तत्काल नदेखिए पनि सामाजिक अभियन्ताहरू निरुत्साहित हुन नहुनेमा सरोकारवालाले जोड दिएका छन् ।
बहिनी एडुकेयर फाउण्डेसन, कास्कीको १३औँ वार्षिक साधारणसभा तथा सामाजिक लेखाजोखा कार्यक्रम पोखरा महानगरपालिका-६, बुलौदीमा सम्पन्न भएको छ ।
संस्थाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका कार्यक्रम तथा गतिविधिको सामाजिक लेखाजोखासमेत गरिएको हो ।
कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका-७ का वडाध्यक्ष राममोहन आचार्यले गर्नुभएको थियो ।
उहाँले सामाजिक लेखाजोखाबाट प्राप्त सुझावलाई आगामी योजना तथा कार्यक्रममा समेटेर संस्थागत सुधार गर्नुपर्ने बताउनुभयो ।
स्थानीय तह र सङ्घसंस्थाबिच सहकार्य तथा पारदर्शिता बढाउनु सबैको साझा दायित्व भएको उहाँको भनाइ थियो ।
आचार्यले विरोधका लागि विरोध गर्ने तथा कार्यान्वयन गर्न नसकिने विषयमा आश्वासन दिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो ।
संस्थागत काममा पारिवारिक वा निकट सम्बन्धको प्रभाव देखिँदा निर्णय प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने भएकाले संस्थागत मर्यादा र व्यावसायिक दूरी कायम गर्नुपर्ने उहाँले बताउनुभयो ।
बालगृहमा मापदण्डअनुसारका बालबालिकालाई मात्र संरक्षण गर्नुपर्नेमा जोड दिँदै उहाँले बालबालिका सिफारिस गर्दा स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित पक्षले प्रचलित ऐन, नियमावली र मापदण्ड पूर्ण रूपमा पालना गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले सामाजिक लेखाजोखालाई प्रभावकारी बनाउन स्पष्ट मूल्याङ्कन सूचक, तथ्याङ्कको क्रसचेक तथा नियमनकारी निकायसँगको समन्वय आवश्यक रहेको बताउनुभयो ।
एउटै संस्था वा व्यक्तिबाट निरन्तर मूल्याङ्कन गर्दा स्वार्थको द्वन्द्व हुन सक्ने भएकाले फरक–फरक संस्था वा व्यक्तिबाट परीक्षण गराउँदा पारदर्शिता बढ्ने उहाँको भनाइ थियो ।
उहाँले सामाजिक लेखाजोखाबाट प्राप्त सुझावलाई सकारात्मक समीक्षाका रूपमा ग्रहण गरी संस्थागत सुधारमा उपयोग गर्नुपर्ने बताउनुभयो ।
संस्थाका कार्यकारी निर्देशक सुरेन्द्र परियारले पोखरा महानगरपालिका तथा तनहुँका भिमाद र शुक्लागण्डकी नगरपालिका, म्याग्दे र घिरिङ गाउँपालिकामा दिगो विकास लक्ष्यअन्तर्गत लक्ष्य ३ र ४ लाई केन्द्रमा राखेर विपन्न तथा पछाडि पारिएका महिला र बालिकाको क्षेत्रमा काम गर्दै आएको जानकारी दिनुभयो ।
वास्तविक विपन्न परिवार पहिचानका लागि कम्तीमा तीनपटक स्थलगत भ्रमण र स्थानीय तहको सिफारिस अनिवार्य गरिएको उहाँले बताउनुभयो ।
परिवारलाई राहतमा निर्भर बनाउनेभन्दा आयआर्जनमार्फत आत्मनिर्भर बनाउने नीति संस्थाले लिएको उहाँको भनाइ थियो ।
परियारका अनुसार ‘एडुकेयर फेमिली’ कार्यक्रममा ८० परिवार समेटिएका छन् भने शैक्षिक सहयोगबाट ३ सय ३६ जना लाभान्वित भएका छन् ।
त्यस्तै, सामाजिक दिगो जीविकोपार्जन कार्यक्रममार्फत १७ जनालाई आयआर्जनमा जोडिएको छ । तीमध्ये १० जनालाई कुखुरा तथा एक जनालाई गाई वितरण गरिएको र ६ जनालाई सीपमूलक तालिम प्रदान गरिएको संस्थाले जनाएको छ ।
सशक्तीकरण तथा परामर्श कार्यक्रममा ६ सय २३ जना सहभागी भएका छन् भने स्वास्थ्य शिविरबाट ४ सय ३६ जना लाभान्वित भएका छन् ।
संस्थाका अनुसार सेवाग्राहीमध्ये कास्कीका २ सय ३० र गण्डकी प्रदेशका अन्य जिल्लाका ३ सय ७ बालबालिका संस्थाका सेवासँग जोडिएका छन् ।
संस्थाले स्थानीय तह, विद्यालय तथा विभिन्न सङ्घसंस्थासँग सहकार्य गरी स्वास्थ्य शिविर, महिनावारीसम्बन्धी जनचेतना, सीपमूलक तालिम तथा मनोसामाजिक स्वास्थ्य सचेतनालगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
कार्यक्रममा भिमाद गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाखर पोखरेलले जोखिममा रहेका तथा बालश्रममा संलग्न बालबालिकाको पहिचान र पुनर्स्थापनामा ध्यान दिनुपर्ने बताउनुभयो ।
अभिभावकविहीन बालबालिकाको जन्मदर्ता, नागरिकतालगायतका कानुनी पहिचान सुनिश्चित गर्न स्थानीय तहले सहजीकरण गर्नुपर्ने उहाँले बताउनुभयो ।
पोखरा महानगरपालिकाकी बालकल्याण अधिकारी बेलकुमारी गुरुङले परिवार तथा अभिभावकको जिम्मेवारी कमजोर हुँदा बालबालिका जोखिममा पर्ने अवस्था बढ्दै गएको बताउनुभयो ।
बालगृहमा राख्नुभन्दा सम्भव भएसम्म परिवारकै संरक्षणमा राखेर प्रत्यक्ष सहयोग गर्ने नीति प्रभावकारी हुने उहाँको भनाइ थियो ।
गैसस महासङ्घ नेपालका केन्द्रीय सदस्य विजयकुमार प्रधानले बालगृहले बाल संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै बालबालिकाको संरक्षण तथा पुनर्स्थापनाका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबिच समन्वय तथा सहकार्य आवश्यक रहेको बताउनुभयो ।
गैसस महासङ्घ नेपाल गण्डकीका अध्यक्ष पदमराज पहारीले गैरसरकारी संस्थाले स्थानीय तहमा गरेको लगानी र उपलब्धिको सही अभिलेखीकरण हुनुपर्ने बताउनुभयो ।
स्थानीय सरकार र सङ्घसंस्थाबिच सहकार्य बढाएर कार्यक्रमको प्रभावलाई दीर्घकालीन बनाउनुपर्ने उहाँको जोड थियो ।
‘सामाजिक उत्तरदायित्व प्रवर्द्धन निर्देशिका, २०७७’ अन्तर्गत संस्थाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका कार्यक्रम तथा गतिविधिको सामाजिक लेखाजोखा गरिएको हो ।
सामाजिक लेखाजोखा सहजकर्ता निकिता कोइरालाले संस्थाले सञ्चालन गरेका कार्यक्रम, लक्ष्य, उद्देश्य, उपलब्धि, सबल पक्ष तथा सिकाइका विषयमा प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रममा घिरिङ गाउँपालिकाका कृष्णप्रसाद ढकाल, सिविन पोखराका जिल्ला निर्देशक शंकर नेपाली, भ्वाइस अफ चिल्ड्रेनकी अप्सरा गुरुङ तथा सेवाग्राहीका तर्फबाट मिना परियार, सन्तोषी अधिकारी र कविता विकलगायतले आफ्ना धारणा तथा जिज्ञासा राख्नुभएको थियो ।
बहिनी एडुकेयर फाउण्डेसनका अध्यक्ष अभिजित श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अनिरुद्र बरालले स्वागत मन्तव्य दिनुभएको थियो भने दिगो विकास भविष्य कार्यक्रमकी संयोजक देवी चन्दले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिसहित ५५ जनाको सहभागिता रहेको थियो ।