मानव आवाज

२०८३ असोज १० गते
00: 00: 00
२०८३ असोज १० गते

वारिपारि छुट्टिएका परिवार, बेखबर आफन्त र खोजीमा भौँतारिएका आँखाहरू

सिन्धुली । रसुवाको भोटेकोशी र त्रिशूली नदीको वारिपारि छुट्टिएका परिवार, बेखबर आफन्त र आफ्ना मान्छेको खोजीमा भौँतारिरहेका आँखाहरू ।

बाढीले बस्ती र संरचना मात्रै बगाएन, कैयौँ परिवारको खुसी, आशा र भविष्यसमेत अनिश्चित बनाइदियो ।

त्यहाँ देखिएको मानवीय पीडा सहजै शब्दमा बयान गर्न नसकिने अवस्था छ। यही पीडाबीच प्रभावितको उद्धार, राहत तथा शव व्यवस्थापनमा १४ दिन खटिएर नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका कार्यालय प्रमुख पवन पाख्रिन २०८३ भदौ २९ गते सिन्धुली फर्किनुभएको छ ।

विनाशकारी बाढीपछि प्रभावित परिवारको पुनःस्थापना तथा मानवीय सेवाका लागि रसुवा पुग्नुभएका पाख्रिनले बाढीले पुर्‍याएको क्षति अत्यन्तै पीडादायी रहेको बताउनुभयो ।

उहाँका अनुसार रसुवाको ठूलो हाकु गाउँमा मात्रै एकै गाउँका ५२ जना बेपत्ता भएका छन् । त्यस्तै, ‘ब्लक भिलेज’ भनेर चिनिने गत्लाङ क्षेत्रमा २९ जना पर्यटक बेपत्ता भएको जानकारी सङ्कलन गरिएको छ ।

गोसाइँकुण्ड गाउँपालिकाको एउटा वडामा मात्रै २ सय ५२ जनासम्म बेपत्ता भएको विवरणसमेत संकलन गरिएको उहाँले जानकारी दिनुभयो ।

“विशेषगरी १८ देखि ६० वर्ष उमेर समूहका कामदार ठूलो सङ्ख्यामा प्रभावित भएका छन् । कतिपय परिवारले एकै पुस्तासम्म गुमाउनुपरेको अवस्था देखियो ।”-पाख्रिनले भन्नुभयो ।

कैयौँ मानिस अझै बेखबर रहेको दृश्य आफूले प्रत्यक्ष देखेको उहाँले बताउनुभयो । आफन्तको खोजीमा रहेका परिवारको पीडा र अनिश्चितताले घटनाको भयावहता झनै स्पष्ट पारेको उहाँको भनाइ छ ।

प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि सरकारले तीव्र रूपमा काम गरिरहेको उहाँले बताउनुभयो ।

तर, रसुवामा आएको बाढीले नदी तथा खोलाको छेउछाउमा रहेका जोखिमयुक्त बस्तीको दीर्घकालीन व्यवस्थापनबारे पनि गम्भीर प्रश्न उठाएको उहाँको बुझाइ छ ।

जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो ।

हिमाली क्षेत्रमा भूबनोटमा आएको परिवर्तन, हिउँ पग्लिने प्रक्रिया तथा कमजोर चट्टानी संरचनाका कारण आगामी दिनमा समेत यस्ता विपद्को जोखिम रहन सक्ने उहाँको भनाइ छ ।

त्यसैले विपद् आउनुअघि नै पूर्वतयारी, जोखिम पहिचान र न्यूनीकरणका कामलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

विपद्मा रेडक्रसको भूमिका

विपद्को समयमा नेपाल रेडक्रस सोसाइटीको भूमिका महत्वपूर्ण रहेको पाख्रिनले बताउनुभयो । रेडक्रसले हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याउने, शव व्यवस्थापनका लागि शव ब्याग उपलब्ध गराउने, विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गर्ने र प्रभावित परिवारसम्म प्रत्यक्ष पुगेर मानवीय सेवा प्रदान गर्ने काम गरेको उहाँले जानकारी दिनुभयो ।

कठिन भौगोलिक परिस्थितिका बीच प्रभावित परिवार र सरोकारवालासँग नजिक रहेर काम गर्दा मानवसेवाको महत्व अझ गहिरो रूपमा अनुभूति भएको उहाँको भनाइ छ ।

“विपद्को समयमा मानवता, सहकार्य र पूर्वतयारी नै सबैभन्दा महत्वपूर्ण रहेछ । प्रभावित परिवारसम्म पुगेर सेवा गर्न पाउँदा मानवीय सेवाप्रतिको जिम्मेवारी अझ बढेको महसुस भएको छ ।”-उहाँले भन्नुभयो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार