पोखरा । लायन्स क्लब अफ पोखरा बाराही टाउनले आफ्नो आठौँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।
लायन्स इन्टरनेशनल ३२५ आई, नेपालअन्तर्गत गण्डकी एरिया रिजन-२५, जोन-५१ मा सक्रिय क्लबले २०८३ असोज ९ गते पोखरामा स्थापना दिवस मनाएको हो ।
क्लबका २०२६/२७ का अध्यक्ष लायन लक्ष्मी शाह न्यौपानेका अनुसार सामाजिक सेवामा समर्पित हुने उद्देश्यले २०७६ असोज १० गते २० जना महिला सदस्यबाट क्लब स्थापना भएको हो । हाल क्लबमा २० जना स्थायी सदस्य आबद्ध छन् ।
कार्यक्रममा डिस्ट्रिक चिफ कोर्डिनेटर लायन रहमोहन सुबेदीले वास्तविक खुशी अरूको जीवनमा मुस्कान ल्याउँदा, पीडामा साथ दिँदा र निस्वार्थ भावले सेवा गर्दा प्राप्त हुने बताउनुभयो। उहाँले लायनिज्म संस्था मात्र नभई सेवामार्फत खुशी बाँड्ने जीवनशैली भएको उल्लेख गर्नुभयो ।
उहाँले आँखा नदेख्ने बालबालिकालाई सहयोग गर्ने, बिरामीलाई रगत उपलब्ध गराउने तथा विपन्न परिवारलाई राहत प्रदान गर्ने जस्ता सेवाबाट प्राप्त हुने आत्मसन्तुष्टि नै वास्तविक खुशी भएको बताउनुभयो ।
रिजन चियरपर्सन लायन माधवप्रसाद भण्डारीले लायनिज्ममा गरिने सेवा सामाजिक दायित्वसँगै आत्मिक आनन्दको माध्यम भएको बताउनुभयो ।
प्रतिस्पर्धात्मक र तनावपूर्ण समाजमा सेवामार्फत सकारात्मक ऊर्जा र खुशी बाँड्ने संस्कारको विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा डिस्ट्रिक एक्जुकेटिभ तथा क्लबका संस्थापक अध्यक्ष लायन कृष्ण श्रेष्ठ (रोजी) ले क्लब स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने तथा संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने व्यक्तित्वलाई उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको बताउनुभयो ।
लायन्स क्लबको २०२६/२७ वर्षको डिस्ट्रिक्ट थिम ‘Caring By Sharing’ अर्थात् ‘हामी सेवा गर्छौं’ रहेको छ ।
कार्यक्रममा जोन चेयरपर्सन लायन विजयालक्ष्मी खड्काले स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी दिनुभएको थियो । कार्यक्रमको सञ्चालन क्लबकी सचिव लायन लक्ष्मी शर्माले गर्नुभएको थियो ।