पोखरा । विश्व पर्यटन दिवसको अवसरमा पोखराको लेकसाइड क्षेत्रमा ‘विश्व पर्यटन दिवस मिनी सडक महोत्सव २०८३’ आयोजना हुने भएको छ ।
रेस्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराले २०८३ असोज ११ गते (सेप्टेम्बर २७) महोत्सव आयोजना गर्न लागिएको हो ।
यस वर्षको विश्व पर्यटन दिवसको मूल नारालाई आत्मसात् गर्दै पर्यटन प्रवद्र्धन, डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत पोखराको पर्यटनलाई नयाँ ढङ्गले प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
पोखरामा २०८३ असोज ९ गते आयोजित पत्रकार सम्मेलनमा रेवान पोखराका अध्यक्ष बसन्त गौतमले पर्यटन क्षेत्रमा विभिन्न चुनौती र विषम परिस्थितिका बाबजुद पनि ‘नेपाल खुला छ’ र पोखरा पर्यटकलाई स्वागत गर्न तयार छ भन्ने सकारात्मक सन्देश देश तथा विदेशमा प्रवाह गर्न महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो ।
गौतमले पर्यटन क्षेत्रमा चुनौतीहरू रहे पनि व्यवसायीहरू उत्साह र तयारीका साथ पर्यटन सिजनको स्वागत गर्न तयार रहेको बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पर्यटन व्यवसायलाई चलायमान बनाउन यस्ता कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो ।
उहाँले यस वर्ष विश्व पर्यटन दिवसलाई एक दिनमा मात्र सीमित नगरी पर्यटन सप्ताहकै रूपमा अघि बढाइएको जानकारी दिनुभयो ।
“यस वर्ष हामीले विश्व पर्यटन दिवसलाई एक दिनमा मात्रै सीमित गरेका छैनौँ, पर्यटन सप्ताहकै रूपमा अघि बढाएका छौँ,” उहाँले भन्नुभयो, “सेप्टेम्बर २३ बाट पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुनु र विभिन्न कार्यक्रममार्फत पोखरालाई थप चलायमान बनाउनु त्यसै अभियानको हिस्सा हो ।”
भुजेलले डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रयोग गरी पोखरा तथा नेपालका पर्यटन गन्तव्यलाई विश्वसामु नयाँ ढंगले प्रचार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले अहिलेको परिस्थितिमा नेपाल सुरक्षित छ, पर्यटन चलिरहेको छ र पोखरा पर्यटकका लागि तयार छ भन्ने सन्देश विश्व बजारमा पुर्याउन आवश्यक रहेको बताउनुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ कार्यक्रम अधिकृत जयशक्ति सराफले पर्यटन प्रवद्र्धनमा स्थानीयस्तरमा आयोजना हुने कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
उहाँले पोखराको पर्यटनलाई नयाँ पुस्ता, डिजिटल माध्यम र नयाँ प्रविधिसँग जोड्दै अन्तर्राष्ट्रिय बजारसम्म प्रभावकारी रूपमा पुर्याउनुपर्ने धारणा राख्नुभयो ।
रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले मिनी सडक महोत्सवमा पोखराको मौलिक कला–संस्कृति, स्थानीय खानाका परिकार, आतिथ्य तथा पर्यटन व्यवसायलाई पर्यटकमाझ प्रस्तुत गरिने जानकारी दिनुभयो ।
मुख्य पर्यटन सिजन सुरु हुन लागेको समयमा महोत्सवले पोखरालाई थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
महोत्सवको उद्घाटनपछि मुख्य स्टेजमा विभिन्न सांस्कृतिक नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिनेछ। सेन्टर प्वाइन्ट चोकस्थित चौतारामा साँझ ४ बजेदेखि राति १० बजेसम्म गन्धर्व गायन प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
यस्तै, लेकसाइड स्ट्रिट नं. ४ देखि बिच क्षेत्रसम्म विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।