पोखरा । नेपालीहरूको महान् पर्व बडादशैंको सांस्कृतिक महत्वलाई पर्यटनसँग जोड्दै पोखरामा ‘दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३’ आयोजना हुने भएको छ ।
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा हुने महोत्सव २०८३ कात्तिक ८ गते कोजाग्रत पूर्णिमाका दिन पोखरा महानगरपालिका-६, लेकसाइडस्थित वाराहीघाट मैदानमा आयोजना गरिने भएको हो ।
‘टीका, जमरा र चङ्गा चट्: पोखरामा पर्यटकसँग दशैं भेट’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवबारे ओटेफकी निवर्तमान अध्यक्ष तथा मूल समारोह समिति संयोजक उमा भण्डारीले २०८३ असोज ९ गते पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
महोत्सवको अवसरमा कोजाग्रत पूर्णिमाका दिन बिहान साढे १० बजे लेकसाइडको खहरेचोकदेखि वाराहीघाटसम्म सांस्कृतिक तथा पर्यटन प्रवर्धन र्याली निकालिनेछ ।
र्यालीमा पञ्चेबाजासहित पर्यटनसम्बद्ध सङ्घसंस्था, आमा समूह, स्थानीय समुदाय, सांस्कृतिक समूह तथा अन्य सरोकारवालाको सहभागिता रहने भण्डारीले बताउनुभयो ।
महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली परम्पराअनुसार टीका र जमरा लगाइदिने कार्यक्रमसमेत राखिएको छ ।
यस्तै, चङ्गा चेट प्रतियोगिता, चमरेली पिङ, रोटे पिङ तथा घुमाउने पिङलगायतका गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ ।
महोत्सव स्थलमा विभिन्न जातजाति तथा समुदायका मौलिक सांस्कृतिक प्रस्तुति, नेपाली मौलिक खानपान तथा खाद्य संस्कृतिको प्रदर्शन, परम्परागत सामग्री, स्थानीय उत्पादन र पर्यटनसम्बन्धी व्यावसायिक स्टलसमेत राखिनेछन् ।
महोत्सवले पोखराको पर्यटनमा स्थानीय संस्कृति र समुदायको सहभागितालाई थप मजबुत बनाउनुका साथै नेपाली मौलिक संस्कृतिलाई अन्तर्राष्ट्रिय पर्यटकमाझ परिचित गराउन सहयोग पुग्ने आयोजकको विश्वास छ ।
ओटेफकी अध्यक्ष ममता न्यौपानेले पर्यटन क्षेत्रमा महिला व्यवसायीको सहभागिता, नेतृत्व र योगदानलाई सशक्त बनाउँदै स्थानीय संस्कृति, मौलिकता र समुदायको प्रवर्द्धनका लागि संस्थाले विभिन्न गतिविधि गर्दै आएको बताउनुभयो ।
नेपालीको मौलिक पर्व दशैंलाई पर्यटनसँग जोडेर पर्यटक आकर्षित गर्न महोत्सवले सहयोग पुग्ने उहाँको भनाइ छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पोखरा महोत्सवहरूको सहरका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै दशैंसँग जोडिएको यो महोत्सवको पनि विशेष महत्व रहेको बताउनुभयो ।
पोखरामा आयोजना हुने सबै महोत्सव पोखरा र पोखरेलीका साझा महोत्सव भएकाले सफल बनाउन सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत जयशक्ति सराफले पर्यटन क्षेत्रमा सांस्कृतिक आयामको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै दशैंको मौलिक संस्कृति र पर्यटनलाई जोड्ने महोत्सव उपयोगी हुने बताउनुभयो ।