मानव आवाज

२०८३ असोज ९ गते
00: 00: 00
२०८३ असोज ९ गते

‘ना’को अध्यक्षमा माधव तिवारी निर्वाचित

पोखरा । नेपाल हवाई खेलकुद संस्था (ना)को २३औँ साधारणसभा तथा ११औँ अधिवेशनबाट माधव तिवारी अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

२०८३ असोज ८ गते सम्पन्न निर्वाचनबाट तिवारीको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको निर्वाचन अधिकृत अधिवक्ता जनकल्याण पराजुलीले जानकारी दिनुभयो ।

अध्यक्ष पदमा तिवारीले १ सय ३६ मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी सानुबाबु सुनुवारले १ सय २३ र खेमराज आचार्यले १४ मत प्राप्त गर्नुभयो ।

प्रथम उपाध्यक्षमा विजय गौतम १ सय ६६ मतसहित निर्वाचित हुनुभयो भने महासचिवमा रोशन गौतम १ सय ९२ मत प्राप्त गरी विजयी हुनुभयो ।

सचिवमा शर्मिला शर्मा १ सय ६० र कोषाध्यक्षमा रामचन्द्र सुवेदी ‘राजु’ १ सय ३१ मतसहित निर्वाचित हुनुभयो । प्राविधिक उपाध्यक्षमा सुरेश थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।

सदस्यमा अमित थापा, लक्ष्मण कुँवर, प्रकाश भुजेल, युवराज गौतम, रेवतीरमण पराजुली, रविन अधिकारी र दीपक थापा निर्वाचित हुनुभएको जनाइएको छ ।

आमन्त्रित सदस्यमा प्याराग्लाइडिङ पाइलट्स क्लबका अध्यक्ष लक्ष्मणबहादुर थापा चयन हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष तिवारीले पोखराको प्याराग्लाइडिङलाई व्यवस्थित र मर्यादित पेशाका रूपमा विकास गर्न आफूले विशेष भूमिका खेल्ने बताउनुभयो । सबै पक्षलाई समेटेर संस्थाको नेतृत्व गर्ने उहाँको भनाइ छ ।

असोज ७ गते साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्याराग्लाइडिङ पोखराको पहिचान बनिसकेको भन्दै यसको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको थियो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले प्याराग्लाइडिङलाई सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्दै पोखरालाई ‘स्पोर्ट्स टुरिजम’को हबका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले जल, जमिन र आकाशमा पर्यटन गतिविधि विस्तार गरेर पोखराको पर्यटनलाई बाह्रै महिना चलायमान बनाउनुपर्ने बताउनुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घकी अध्यक्ष शोभा गौतमले हवाई खेलकुदले पर्यटनसँगै स्थानीय व्यवसाय र रोजगारीमा समेत योगदान पुर्‍याइरहेको बताउँदै सरकार, निजी क्षेत्र र सम्बन्धित संस्थाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका फ्लाइट सेफ्टी विभाग प्रमुख प्रभाकरचन्द्र मल्लिकले प्याराग्लाइडिङको सुरक्षित सञ्चालनका लागि प्रभावकारी नियमन र सुरक्षा मापदण्डको पूर्ण पालना आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा पोखराको पर्यटन तथा हवाई खेलकुद क्षेत्रको प्रवर्धनमा पत्रकारितामार्फत योगदान पुर्‍याएको भन्दै पत्रकार कृष्णमणि बराल र विमल तिवारीलाई सम्मान गरिएको थियो ।

संस्थाका अनुसार सात कम्पनीबाट सुरु भएको प्याराग्लाइडिङ व्यवसायमा अहिले ५७ कम्पनी र ४१३ प्यारापाइलट आबद्ध छन् ।

संस्थाका अध्यक्ष अनिल केसीको अध्यक्षतामा  उपाध्यक्ष खेमराज आचार्यले धन्यवाद ज्ञापन र सञ्चालन  महासचिव बलराम आचार्यले गर्नु भएको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार