मानव आवाज

२०८३ असोज ८ गते
00: 00: 00
२०८३ असोज ८ गते

कास्कीका गैरसरकारी संस्थाको वार्षिक समीक्षा सुरु

पोखरा । कास्कीमा कार्यरत गैरसरकारी संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रम २०८३ असोज ८ गतेदेखि जिल्ला समन्वय समिति कास्कीमा सुरु भएको छ ।

दुई दिनसम्म सञ्चालन हुने समीक्षामा जिल्लामा कार्यरत गैरसरकारी संस्थाले आफ्ना कार्यक्रम, उपलब्धि र आगामी योजनाबारे प्रस्तुति दिनेछन् ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गैरसरकारी संस्थाले थप प्रभावकारी परिणामका लागि ठोस योजना बनाएर काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले गैरसरकारी संस्था हरेक तहका सरकारका सहयात्री र सहजकर्ता भएकाले सामाजिक उत्तरदायित्व, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

जिल्लाभर कार्यक्षेत्र भएका कतिपय संस्थाले जिल्ला परियोजना सल्लाहकार समितिबाट आफ्ना नीति, कार्यक्रम तथा बजेट स्वीकृत नगराई सञ्चालन गरेको पाइएको भन्दै पौडेलले आवश्यक प्रक्रिया पूरा गरेर मात्र कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो । संस्थाहरूले आन्तरिक नियन्त्रण प्रणालीलाई समेत प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो ।

मानवीय तथा दिगो विकासका लक्ष्य प्राप्तिमा गैरसरकारी संस्थाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै पौडेलले कर्मचारी तथा कामदारलाई कानुनबमोजिम प्रदान गर्नुपर्ने सेवा-सुविधामा कमी नगर्न र दातृ निकायबाट प्राप्त अनुदानको उचित सदुपयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ कास्कीका अध्यक्ष इन्दिरा पौडेल, पोखरा महानगरपालिकाका बाल कल्याण अधिकारी बेलकुमारी गुरुङलगायतले गैरसरकारी संस्थाको भूमिका, कार्यसम्पादन र आगामी प्राथमिकताबारे धारणा राख्नुभएको थियो ।

समीक्षामा राइट फर चिल्ड्रेन, बाल कल्याण संस्था, शक्ति समूह, चिल्ड्रेन नेपाल, कोपिला नेपाल, दयाको सेवा नेपाल, साना हातहरू नेपाल, मानवअधिकारका लागि महिला एकल महिला समूह कास्की, बाल हितकारी परियोजना, थ्री एन्जल्स नेपाल, बहिनी एडुकेयर फाउन्डेसन, कोपिला चिल्ड्रेन होम, महिला सशक्तीकरण समाज र एसओएस बाहिनीसहित १५ संस्थाले आफ्ना कार्यक्रम तथा प्रगतिको विवरण प्रस्तुत गरेका छन् ।

जिल्ला परियोजना सल्लाहकार समितिका संयोजकसमेत रहनुभएका पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीकी उपप्रमुख सरिता मालले स्वागत र जिल्ला समन्वय अधिकारी नवराज बरालले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमबारे सूचना अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार