पोखरा । भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएपछि कास्कीमा उच्च सतर्कता अपनाइएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सम्भावित बाढी, पहिरो तथा अन्य विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि विभिन्न निर्णय गर्दै सुरक्षा तथा उद्धार संयन्त्रलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानअनुसार बंगालको खाडी तथा अण्डमान सागर क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीका कारण कास्कीसहित देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएको हो ।
जिल्ला प्रशासन कार्यालय, कास्कीले असोज ८ गते बिहीबारदेखि ११ गते आइतबारसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वर्षाका कारण हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै कास्कीबाट अन्य जिल्लातर्फ जाने रात्रिकालीन बस सेवा बन्द गर्ने निर्णय गरेको छ ।
ग्रामीण क्षेत्रमा सञ्चालन हुने सवारी साधनलाई दिउँसो ४ बजेपछि सञ्चालन नगर्न तथा अत्यावश्यकबाहेक लामो तथा छोटो दूरीको यात्रा नगर्न आग्रह गरिएको छ ।
भारी वर्षाको अवधिभर पदयात्रा स्थगित गर्ने निर्णयसमेत गरिएको छ । पदयात्रामा रहेका पर्यटकलाई सुरक्षित स्थानमा फर्कन सूचना प्रवाह गर्न सम्बन्धित निकायलाई भनिएको छ ।
प्याराग्लाइडिङ, बन्जी जम्प, कायकिङ, जिपलाइनलगायत साहसिक खेल तथा फेवाताल र बेगनासतालमा सञ्चालन हुने डुङ्गा, सर्फिङ र कायकिङ सेवा पनि खराब मौसमको सूचना प्राप्त हुनासाथ बन्द गर्न निर्देशन दिइएको छ ।
समितिले नदी तथा खोला किनारमा माछा मार्ने, पौडी खेल्ने, नुहाउने, लुगा धुने, गिटी–बालुवा तथा ढुङ्गा निकाल्ने र बाढीले बगाएर ल्याएका सामग्री झिक्ने कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
बालबालिकालाई नदी तथा खोला किनारमा खेल्न र गाईवस्तु चराउन वा पानी खुवाउन नलैजान पनि अभिभावकलाई अनुरोध गरिएको छ ।
लगातारको वर्षाले नदी तथा खोलाको जलसतह बढ्ने, आकस्मिक बाढी, भेल तथा पहिरो जाने जोखिम रहेको प्रशासनले जनाएको छ ।
वर्षापछि चर्को घाम लाग्दा सुख्खा पहिरो जाने, खोला थुनिने तथा लेदोसहितको बाढी आउने सम्भावनासमेत रहेकाले विशेष सतर्कता अपनाउन भनिएको छ ।
स्थानीय तहलाई नदी तटीय तथा बाढीपहिरोको जोखिममा रहेका बस्तीमा समयमै सूचना प्रवाह गर्न र आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गर्न निर्देशन दिइएको छ ।
स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र, स्वास्थ्य चौकी, डोजर तथा जेसीबी तयारी अवस्थामा राख्न र जोखिम मूल्याङ्कनका आधारमा विद्यालय बन्द गर्ने निर्णय लिन सक्ने अधिकार स्थानीय तहलाई दिइएको छ ।
सुरक्षा निकायलाई जनशक्ति तथा खोज तथा उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन र नियमित कमान्ड पोस्ट सञ्चालन गर्न भनिएको छ ।
स्वास्थ्य संस्थालाई एम्बुलेन्स, शववाहन, चिकित्सक तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न तथा हेलिकप्टर सेवा प्रदायक संस्थालाई आवश्यक पर्दा तत्काल उडान गर्न सक्ने अवस्थामा रहन आग्रह गरिएको छ ।
त्यसैगरी सडक डिभिजन तथा हेभी इक्युपमेन्ट डिभिजनलाई चालकसहित आवश्यक मेसिन तथा उपकरण तयारी अवस्थामा राख्न र रेडक्रस तथा गैरसरकारी संस्थालाई राहत सामग्री व्यवस्थापन गर्न भनिएको छ ।
समितिले मोदी नदीको बाढीले नयाँपुल-विरेठाँटी-घान्द्रुक सडकखण्डमा क्षति पुर्याएपछि सडक सञ्चालनमा ल्याउन २५० थान तारजाली उपलब्ध गराउने सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना र जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयलाई धन्यवाद दिएको छ ।
यस्तै, मादी गाउँपालिका-३ का बाढी प्रभावित बुधे विश्वकर्मा वैदेशिक रोजगारीमा रहेकाले उनकी श्रीमती सीता विकसँग पुनर्गठन सम्झौता गरी भुक्तानी प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।
वर्षाको जोखिमलाई ध्यानमा राख्दै सेती सिँचाइको नहरमा जाने पानी सेती नदीमै डाइभर्ट गर्ने तथा बाढीले रूपा गाउँपालिका-५ सुढेला र पोखरा महानगरपालिका-३२ मालेपाटन जोड्ने झोलुङ्गे पुल बगाएकाले पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णयसमेत गरिएको छ ।
प्रशासनले बाढी वा अन्य विपद्को आकस्मिक अवस्था आएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।
बैठकमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ, रूपा गाउँपालिकाका उपाध्यक्ष लालशोभा गुरुङलगायत सुरक्षा निकायका प्रमुख, विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।