मानव आवाज

२०८३ असोज ८ गते
00: 00: 00
२०८३ असोज ८ गते

सुरक्षित भूगोल पहिचान गरी बाढी प्रभावितको पुनःस्थापना गर्न माधव नेपालको सुझाव

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले बाढी तथा अन्य विपद्बाट प्रभावित भएका नागरिकलाई जोखिमयुक्त क्षेत्रमा पुनःबसोबास गराउनुको सट्टा सुरक्षित भूगोल पहिचान गरी व्यवस्थित पुनःस्थापना गर्नुपर्ने बताउनुभएको छ ।

भोटेकोशी बाढीबाट नुवाकोटमा भएको क्षतिको स्थलगत निरीक्षणका क्रममा २०८३ असोज ७ गते नेपालले विपद् जोखिमका आधारमा बस्ती व्यवस्थापनको नीति बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले धादिङको गल्छीदेखि नुवाकोटको त्रिशूली बजारसम्म बाढी प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्नुभएको थियो ।

उहाँका अनुसार बाढीले क्षति पुर्‍याएका तथा भविष्यमा पनि जोखिम हुन सक्ने क्षेत्रलाई पहिचान गरी त्यस्ता स्थानलाई सार्वजनिक प्रयोजनका लागि सुरक्षित राख्नुपर्छ ।

प्रभावित परिवारका लागि भने सुरक्षित स्थानमा नयाँ बस्ती विकास गरी पुनःस्थापना गर्नुपर्ने उहाँको भनाइ छ ।

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक नेपालले जलवायु तथा मौसममा आएको परिवर्तनसँगै विपद्का घटना बढिरहेको उल्लेख गर्दै भविष्यमा अझ ठूलो जोखिम आउन सक्ने भएकाले विपद् पूर्वतयारीलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

स्थलगत अवलोकनपछि नेपाल विदुर नगरपालिकाको कार्यालयमा आयोजित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालासँगको अन्तरक्रियामा सहभागी हुनुभएको थियो ।

नेपालले विपद् व्यवस्थापनलाई घटनापछि गरिने उद्धार र राहतमा मात्र सीमित नगरी जोखिम पहिचान, पूर्वतयारी र सुरक्षित बस्ती विकाससँग जोड्नुपर्ने धारणा राख्नुभएको छ ।

टोलीमा पार्टीका नेता तथा कार्यकर्ता एवम् केन्द्रीय मानवअधिकार विभागको अधिकारीहरू सहभागी रहेका थिए । (फोटोः कृतु भण्डारी को फेसबुक वालबाट)

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार