पोखरा । बजार अनुगमनका क्रममा व्यवसायीलाई अभद्र व्यवहार गर्ने, तत्काल जरिवाना गर्ने तथा प्रचारबाजीमार्फत वर्षौं लगाएर बनाएको व्यवसायिक ब्रान्डमा असर पार्ने काम भएको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाएको छ । व्यवसायीले अनुगमनअघि सचेतना र सुधारको अवसर दिनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय उपभोक्ता मञ्च, गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश सरकारको सहकार्यमा ‘सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रण’ विषयमा पोखरामा आयोजित सचेतना कार्यक्रममा सरकारी अधिकारी र व्यवसायीबिच बजार अनुगमन तथा व्यवसाय सञ्चालनका विषयमा छलफल भएको हो
।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव भुपाल बरालले व्यवसाय सञ्चालन गर्दा कानुन, आचारसंहिता र मर्यादाको पालना गर्दै व्यवसायी स्वयम् जिम्मेवार र अनुशासित हुनुपर्ने बताउनुभयो ।
कारबाहीको उद्देश्य दण्ड दिनुमात्र नभई सचेतना र सकारात्मक सन्देश प्रवाह गर्नु पनि भएको उहाँको भनाइ थियो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले उपभोक्ताको अधिकार संरक्षणका लागि बजार अनुगमन नरोकिए पनि व्यवसायीले कानुनको सीमाभित्र रहेर व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
कालोबजारी र मिसावट न्यूनीकरणका लागि व्यवसायी, उपभोक्ता र नियमनकारी निकायबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।
पोखरा उद्योग वाणिज्य सङ्घकी अध्यक्ष शोभा गौतमले अनुगमन र गलत काम गर्नेलाई कारबाहीको विरोध नभएको स्पष्ट पार्दै मानवीय कमजोरीलाई सुधार्ने अवसर दिनुपर्ने बताउनुभयो ।
‘जरिवानाको रसिद बुझाउँदा लडाइँ नै जितेजस्तो गरी व्यवसायीको मानमर्दन गर्ने काम नगरियोस् ।’-उहाँले भन्नुभयो ।
वर्षौं लगाएर निर्माण गरेको ब्रान्ड ध्वस्त हुने गरी गरिने प्रचारबाजीले व्यवसायीलाई सुधारको अवसर नदिने भन्दै उहाँले कानुनी कारबाही गर्दा व्यवसाय नै समाप्त हुने अवस्था सिर्जना गर्न नहुने धारणा राख्नुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले असल व्यवसायीले नियमित रूपमा आफ्नो व्यवसायको अनुगमन गराउनुपर्ने बताउँदै आफूले उपभोग गर्न नसक्ने वस्तु अरूलाई बिक्री नगर्न आग्रह गर्नुभयो । अनुगमनका क्रममा कसैको बदनामी गर्ने काम हुन नहुने उहाँको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जिबबहादुर कोइरालाले अनुगमनमा कैफियत भेटिए कारबाही जायज भए पनि प्रत्यक्ष प्रसारण गरेर व्यवसायीलाई दोषी करार गर्ने प्रवृत्ति उचित नभएको बताउनुभयो । उहाँले अवैध रूपमा सञ्चालन भएका व्यवसायमा पनि प्रभावकारी अनुगमन हुनुपर्नेमा जोड दिनुभयो ।
शक्ति ग्याँस प्रालिका निर्देशक मेघराज पौडेलले काठमाडौं केन्द्रित आपूर्ति नीतिका कारण पोखरालगायत उपत्यका बाहिर ग्यास अभाव हुने गरेको बताउँदै समानुपातिक वितरण प्रणाली आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा व्यवसायीहरूले अनुगमनभन्दा पहिले सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने, खाद्य तथा अखाद्य वस्तु छुट्याउने वस्तुनिष्ठ आधारबारे जानकारी दिनुपर्ने र अनुगमनमा सम्बन्धित विषयका विज्ञलाई सहभागी गराउनुपर्ने माग राखेका थिए ।
कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, उद्योग तथा पर्यटन मन्त्रालयका महाशाखा प्रमुख महराज ढकाल, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराललगायतले उपभोक्ता अधिकार, बजार अनुगमन, सहज आपूर्ति, मिसावट र महँगी नियन्त्रणका विषयमा प्रस्तुति दिनुभएको थियो ।
राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपभोक्ता, व्यवसायी र नियमनकारी निकायको भूमिकाबारे छलफल गरिएको थियो ।