मानव आवाज

२०८३ असोज ६ गते
00: 00: 00
२०८३ असोज ६ गते

अल्जाइमरबारे सचेतना बढाउनुपर्नेमा जोड

पोखरा । अल्जाइमर रोग कुनै पापको परिणाम वा सरुवा रोग नभएकाले यसबाट पीडित व्यक्तिप्रति परिवार र समुदायमा डर तथा गलत धारणा फैलाउन नहुनेमा पोखरामा आयोजित सचेतना कार्यक्रममा जोड दिइएको छ ।

विश्व अल्जाइमर दिवसका अवसरमा असोज ६ गते पोखरा महानगरपालिका-१७ महतगौडामा आयोजित कार्यक्रममा अल्जाइमर तथा बिर्सने समस्याबारे समुदायस्तरमा सचेतना विस्तार गर्नुपर्नेमा जोड दिइएको हो ।

वरिष्ठ मानसिक चिकित्सक प्रा.डा. निर्मल लामिछानेले नेपालमा अल्जाइमरसम्बन्धी विश्वसनीय तथ्याङ्कको अभाव रहे पनि विश्वभर यो समस्या बढ्दै गएको बताउनुभयो ।

उहाँका अनुसार विश्वव्यापी तथ्याङ्कमा अल्जाइमरबाट प्रभावितको सङ्ख्या करिब १०.५ प्रतिशत पुगेको अनुमान छ ।

उहाँले ज्येष्ठ नागरिकमा देखिने अल्जाइमर तथा अन्य स्मरणसम्बन्धी समस्याको पहिचान, उपचार र संरक्षणका लागि परिवार, समुदाय तथा राज्यका निकाय सक्रिय हुनुपर्ने बताए ।

कार्यक्रममा वरिष्ठ मनोपरामर्शदाता सम्झना पराजुलीले अल्जाइमर स्क्रिनिङ परीक्षणको महत्व तथा मानसिक स्वास्थ्य सचेतनाबारे प्रशिक्षण दिनुभयो ।

पोखरा महानगर स्वास्थ्य महाशाखाका उपप्रमुख तेजाखर लम्सालले कार्यक्रमले ज्येष्ठ नागरिकको हेरचाहमा संलग्न तथा स्वदेश र विदेशमा काम गर्न चाहने स्याहारकर्तालाई अल्जाइमरबारे जानकारी लिन सहयोग पुगेको बताउनुभयो ।

तत्कालीन राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका महासचिव कुसुम केशव पराजुलीले अल्जाइमरको न्यूनीकरण तथा रोकथाममा सरकारले पर्याप्त ध्यान दिन नसकेको बताउनुभयो ।

उहाँले अल्जाइमरसम्बन्धी सचेतना र यसको महत्वबारे व्यापक प्रचारप्रसार गर्न सरकारसँग आग्रह गर्नुभयो ।

पोखरा वृद्धाश्रम र गण्डकी ज्येष्ठ नागरिक सङ्घको आंशिक सहयोग तथा बीजी हस्पिटल एन्ड रिसर्च सेन्टर पोखराको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक स्याहारकर्ता, चिकित्सक, स्वास्थ्य संस्था तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार