पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घले तोकिएको भन्दा बढी मूल्यमा सामान बिक्री गर्ने तथा उपभोक्ताको हितविपरीतका गतिविधि नगर्न उद्योगी व्यवसायीलाई आग्रह गर्दै बजार अनुगमनका नाममा व्यवसायीलाई हतोत्साहित नपार्न सरोकारवाला निकायसँग माग गरेको छ ।
सङ्घकी अध्यक्ष शोभा गौतम नेतृत्वको प्रतिनिधिमण्डलले २०८३ असोज ५ गते कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो माग गरेको हो ।
चाडबाड नजिकिँदै गर्दा बजार अनुगमनका क्रममा केही व्यवसायीमाथि कारबाही गरिएका समाचार सार्वजनिक भएपछि सङ्घले व्यवसायीको अधिकार र उपभोक्ता हित दुवैलाई ध्यानमा राखेर अनुगमन गर्न आग्रह गरेको हो ।
ध्यानाकर्षणपत्रमा बढी नाफा लिने प्रवृत्तिको अन्त्य गर्दै गुणस्तरीय वस्तुको उत्पादन तथा बिक्रीवितरण सुनिश्चित गर्नुपर्ने उल्लेख छ ।
सङ्घले तोकिएको भन्दा बढी मूल्यमा सामान बिक्री गर्ने तथा उपभोक्ताको हितविपरीतका कार्यको भत्र्सना गर्दै व्यवसाय गर्ने संवैधानिक अधिकारमाथि अनावश्यक हस्तक्षेप गर्न नहुने जनाएको छ ।
सङ्घले चाडबाडको समयमा भीडभाड हुने बेला गरिने अनुगमन, सामान्य त्रुटिलाई आधार बनाएर व्यवसायीको चरित्रहत्या हुने गरी प्रचारप्रसार गर्ने तथा कारबाहीका क्रममा सोझै जरिवाना गरेर सञ्चारमाध्यमबाट सार्वजनिक गर्ने प्रवृत्तिले व्यवसायीको कानुनी प्रतिरक्षाको अधिकार प्रभावित हुने जनाएको छ ।
‘कारबाहीका नाममा गरिने यस्ता कार्यबाट उद्योगी व्यवसायीले वर्षौं लगाएर बनाएको ब्राण्ड नै ध्वस्त नगरियोस् भन्ने हाम्रो माग हो ।’-ध्यानाकर्षणपत्रमा भनिएको छ ।
प्रमुख जिल्ला अधिकारी गुरुङले प्रशासनको उद्देश्य निजी क्षेत्रलाई हतोत्साहित गर्नु नभएको स्पष्ट पार्दै आपूर्ति प्रणाली चुस्त राख्न तथा उपभोक्तालाई उचित मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउन प्रशासन क्रियाशील रहेको बताउनुभयो ।
उहाँले बजार अनुगमनमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न पहल गर्ने तथा उपभोक्ता हितसम्बन्धी सचेतना कार्यक्रम सञ्चालनमा जोड दिने आश्वासन दिनुभयो ।
सङ्घका महासचिव सुदीप प्रधानाङ्गले चाडबाडमा बढ्ने मागअनुसार आपूर्ति व्यवस्थाका लागि तयार रहन, उत्पादन तथा सेवामा यथासक्य छुट दिन, गुणस्तरीय वस्तुको बिक्रीवितरण गर्न तथा कानुनले तोकेभन्दा बढी मूल्यमा र म्याद गुज्रेका सामान बिक्री नगर्न व्यवसायीलाई आग्रह गरिएको बताउनुभयो । उहाँले खरिद तथा बिक्रीका बिलसमेत चुस्तदुरुस्त राख्न आग्रह गरिएको जानकारी दिनुभयो ।
प्रतिनिधिमण्डलमा सङ्घका वरिष्ठ उपाध्यक्ष दीनेशचन्द्र बास्तोला, उद्योग उपाध्यक्ष सौगात थापा, वाणिज्य उपाध्यक्ष मनोजकुमार श्रेष्ठ, महासचिव सुदीप प्रधानाङ्ग, कोषाध्यक्ष देवेन्सन प्रजू र उपमहासचिव प्रदीपराज राजभण्डारी सहभागी हुनुहुन्थ्यो ।
यसअघि जिल्ला अनुगमन समिति कास्कीले असोज ४ गते पोखरा महानगरपालिका क्षेत्रमा गरेको बजार अनुगमनका क्रममा पोखरा-८, नयाँबजारस्थित मोहित ट्रेडर्सलाई दुई लाख रुपियाँ जरिवाना गरेको थियो ।