सिन्धुली । मरिण गाउँपालिकामा १८ देखि २७ वर्ष उमेर समूहका युवालाई लक्षित गरी उद्यमशीलता विकास तथा स्टार्टअप सहयोग कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रमका लागि गाउँपालिकाले ५० जना युवा छनोट गर्ने भएको हो ।
मरिण गाउँपालिकाको समन्वयमा मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित रुपान्तरण तथा नवप्रवर्तनका लागि युवा सशक्तीकरण (वाईटिआई) परियोजना अन्तर्गत कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका युवाको उद्यम विकाससम्बन्धी क्षमता अभिवृद्धि गरी व्यवसाय सञ्चालनका लागि आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले बताउनुभयो ।
कार्यक्रममा मरिण गाउँपालिका-३, ४, ५, ६ र ७ मा स्थायी बसोबास गर्ने १८ देखि २७ वर्ष उमेर समूहका महिला तथा पुरुषले आवेदन दिन सक्नेछन् ।
इच्छुक युवाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८३ असोज १६ गतेसम्म गाउँपालिकाको उद्यम विकास शाखामा आवेदन पेश गर्नुपर्नेछ ।
कार्यक्रममा छनोट हुने ५० जनामध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष सहभागी रहने व्यवस्था गरिएको छ ।
आवेदकले बङ्गुरपालन, पाडापाडी पालन, बाख्रापालन, कुखुरापालन, कृषि व्यवसाय तथा सेवामूलक पसल व्यवसायमध्ये आफूले सञ्चालन गर्न चाहेको कुनै एक व्यवसाय छनोट गर्नुपर्नेछ ।
सेवामूलक पसल व्यवसायतर्फ पशु व्यवसायसँग सम्बन्धित व्यवसायलाई प्राथमिकता दिइने अध्यक्ष मुक्तानले जानकारी दिनुभयो ।
आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, तोकिएको ढाँचाको दरखास्त फाराम, व्यावसायिक योजना तथा कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको प्रमाण खुल्ने कागजात पेश गर्नुपर्नेछ ।
गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा यसै कार्यक्रमअन्तर्गत छनोट भएका घरपरिवारका सदस्यले भने यसपटक सहभागी हुन पाउने छैनन् ।
कार्यक्रममा सहभागी हुन इच्छुक युवाले आवश्यक कागजातसहित मरिण गाउँपालिकाको उद्यम विकास शाखामा निवेदन पेश गर्नुपर्नेछ।