मानव आवाज

२०८३ असोज ३ गते
00: 00: 00
२०८३ असोज ३ गते

आम्दानीका आधारमा एक्यापको ४५ करोडको वार्षिक बजेट, कार्यान्वयनमा लैजाने तयारी

पोखरा । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले चालु आर्थिक वर्ष २०८३/८४ मा करिब ४५ करोड रुपियाँ बराबरका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

एक्यापका आयोजना प्रमुख डा. रविन कडरियाले पोखरा महानगरपालिका-१४ को कार्यालय सभाकक्षमा असोज २ गते आयोजित ‘मिडिया इन्गेजमेन्ट फर वाइल्ड लाइफ क्राइम कन्ट्रोल एण्ड इन्भारामेन्टल जस्टिस’ कार्यक्रममा सो जानकारी दिनुभएको छ ।

उहाँका अनुसार बोर्डबाट आवश्यक प्रक्रिया पूरा गरी स्वीकृत भएका कार्यक्रमलाई अब कार्यान्वयनमा लैजाने तयारी भइरहेको छ । एक्यापले आफ्नो आम्दानीका आधारमा वार्षिक बजेट निर्माण गर्दै आएको उहाँले बताउनुभयो ।

गत वर्ष अपेक्षा गरिएभन्दा बढी आम्दानी भएकाले त्यसैलाई आधार बनाएर चालु आर्थिक वर्षका कार्यक्रम तथा बजेट तय गरिएको कडरियाले जानकारी दिनु भयो ।

अवैधानिक होटल हटाइँदै

कडरियाले अन्नपूर्ण संरक्षण क्षेत्रभित्र सञ्चालनमा रहेका होटल तथा पर्यटन व्यवसायको नियमित निगरानी भइरहेको बताउनुभयो । उहाँले अवैधानिक रूपमा सञ्चालन भएका केही होटल हटाइसकिएको जानकारी दिनुभयो ।

विगतमा संरक्षण क्षेत्रभित्र २ सयभन्दा बढी होटल दर्ता भए पनि स्पष्ट नीति नहुँदा विभिन्न समस्या देखिएको उहाँको भनाइ छ ।

होटल सञ्चालन तथा व्यवस्थापनलाई व्यवस्थित गर्न कार्यविधि तयार गरी स्वीकृतिका लागि पेश गरिएको र स्वीकृति भएपछि कार्यान्वयनमा ल्याइने उहाँले बताउनुभयो ।

नदीजन्य पदार्थ उत्खननमा नीतिगत निर्णय आवश्यक

संरक्षण क्षेत्रभित्र रहेका ढुङ्गा, गिटी, बालुवालगायत नदीजन्य पदार्थ बाहिर निकालेर स्थानीय तहको आम्दानीको स्रोत बनाउनुपर्ने माग स्थानीय तहबाट आएको कडरियाले बताउनुभयो ।

तर, संरक्षण र विकासबीच सन्तुलन कायम गर्नुपर्ने भएकाले नदीजन्य पदार्थको उपयोगका विषयमा स्पष्ट नीतिगत निर्णय आवश्यक रहेको उहाँले बताउनुभयो ।

एक्यापले पर्यटन शुल्कबाट सङ्कलित रकम खानेपानी, सिँचाइ, पर्यटन पूर्वाधार, पदमार्ग, पुल तथा साना विकास आयोजनामा खर्च गर्दै आएको कडरियाले जानकारी दिनुभयो ।

बजेट तथा कार्यक्रम निर्माण गर्दा सम्बन्धित वडा अध्यक्ष र गाउँपालिकासँग समन्वय गर्ने गरिएको उहाँले बताउनुभयो ।

पर्यावरणीय पर्यटन र स्थानीय आयआर्जनमा जोड

आगामी दिनमा पर्यावरणीय पर्यटनलाई व्यवस्थित गर्दै स्थानीय समुदायलाई प्राकृतिक स्रोत संरक्षण र आयआर्जनसँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिइने कडरियाले बताउनुभयो ।

स्थानीय समुदायलाई जडीबुटीको दिगो सङ्कलन, प्राकृतिक स्रोतको संरक्षण तथा त्यसबाट आयआर्जन गर्ने अवसरसँग जोड्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार २०४३ सालमा घान्द्रुकबाट सुरु भएको एक्यापअन्तर्गत अहिले २४ ओटा कार्यालय सञ्चालनमा छन् भने १ सय १५ जना कर्मचारी कार्यरत छन् ।

कार्यक्रममा गण्डकी प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव पूर्णेश्वर सुवेदी र एक्यापका संरक्षण अधिकृत राजनप्रसाद पौडेलले वन्यजन्तु अपराध नियन्त्रण, वातावरणीय न्याय तथा संरक्षण क्षेत्रसँग सम्बन्धित विषयमा प्रस्तुति दिनुभएको थियो ।

अन्नपूर्ण संरक्षण क्षेत्र नेपालको कुल संरक्षण क्षेत्रको करिब २२ प्रतिशत भूभागमा फैलिएको जनाइएको छ ।

गण्डकी प्रदेशका १५ गाउँपालिकाका ८७ वडामा फैलिएको एक्यापको क्षेत्रफल गण्डकी प्रदेशको करिब ३५ प्रतिशत भूभाग बराबर रहेको बताइएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार