काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता हुनुभएका पत्रकार टेकराज थामीको परिवारले २३ दिनसम्म खोजी गर्दा पनि अवस्था पत्ता नलागेपछि धार्मिक संस्कारअनुसार कुशको शव बनाएर अन्त्येष्टि गरेको छ ।
२०८३ भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीपछि बेपत्ता हुनुभएका थामीको नेपाल र चीन दुवैतर्फ सम्भावित स्थानमा खोजी गरिएको थियो ।
लामो समयसम्म खोजी गर्दा पनि कुनै जानकारी प्राप्त हुन नसकेपछि परिवारले तत्कालीन परिस्थितिको मूल्याङ्कन गर्दै अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
परिवारका अनुसार थामी केरुङ जाने क्रममा २०८३ भदौ ९ गते रसुवाको टिमुरे पुग्नुभएको थियो ।
त्यसको भोलिपल्टदेखि उहाँ परिवार तथा आफन्तको सम्पर्कबाट बाहिरिनुभएको थियो । सोही दिन भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो ।
थामी बेपत्ता भएपछि नेपालतर्फ सम्भावित स्थानमा खोजी गर्नुका साथै चीनतर्फसमेत सम्बन्धित निकायसँग समन्वय गरी खोजीकार्य गरिएको थियो । तर, २३ दिनसम्म निरन्तर प्रयास गर्दा पनि उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेन ।
खोजीकार्यबाट अवस्था पत्ता नलागेपछि परिवारले धार्मिक संस्कारअनुसार २०८३ असोज ३ गते शनिबार बिहान पशुपति आर्यघाटमा कुशको शव बनाएर थामीको अन्त्येष्टि गरेको हो ।
पत्रकारितामा सक्रिय थामी बाढीपछि बेपत्ता भएपछि परिवार, आफन्त र सहकर्मी लामो समयदेखि उहाँको अवस्थाबारे अन्योलमा थिए ।
सम्भावित स्थानमा निरन्तर खोजी गर्दासमेत अवस्था पत्ता नलागेपछि गरिएको अन्त्येष्टिले परिवार तथा आफन्तलाई थप भावविह्वल बनाएको छ ।
थामीको भौतिक अवस्था पत्ता नलागे पनि परिवारले हिन्दू धार्मिक संस्कारअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेको हो ।
नेपाल थामी समाजका पूर्वउपाध्यक्षसमेत रहनुभएका दोलखाका थामीका पत्नी र एक छोरी छन् । पत्रकार थामीकी पत्नी कालिका खड्का राष्ट्रिय समाचार समितिमा कार्यरत हुनुहुन्छ ।
