मानव आवाज

२०८३ असोज २ गते
00: 00: 00
२०८३ असोज २ गते

कर्मफ्लाइट्स र एनएमएसआरए पोखरा युनिटबिच ग्रामीण स्वास्थ्य सेवामा सहकार्यको पहल

पोखरा । ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले कर्मफ्लाइट्स फाउन्डेसन नेपाल, पोखरा र नेपाल औषधि बिक्री प्रतिनिधि सङ्घ (एनएमएसआरए) पोखरा युनिटबिच स्वास्थ्य सेवा तथा औषधि व्यवस्थापनमा सहकार्यका सम्भावनाबारे अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका-६, बङ्गलादीस्थित कर्मफ्लाइट्सको कार्यालयमा असोज १ गते आयोजित कार्यक्रममा ग्रामीण स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन उपचारात्मक सेवासँगै स्वास्थ्यकर्मीको क्षमता विकास, निरन्तर व्यावसायिक तालिम तथा आवश्यक औषधि र स्वास्थ्य सामग्रीको व्यवस्थापनमा सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एनएमएसआरए पोखरा युनिटका अध्यक्ष मोहन सुवेदीले स्थानीय तहसँगको समन्वयमा संयुक्त स्वास्थ्य कार्यक्रम तथा स्वास्थ्य शिविर सञ्चालन गर्न युनिट इच्छुक रहेको बताउनुभयो ।

उहाँले एनएमएसआरए नाफामुखी संस्था नभई औषधि बिक्री प्रतिनिधिहरूको सहभागितामा स्थापना भएको सामाजिक संस्था भएको र यसको करिब ५७ वर्षको संस्थागत इतिहास रहेको जानकारी दिनुभयो ।

कर्मफ्लाइट्स फाउन्डेसनका अध्यक्ष कृष्णप्रसाद पाण्डेले संस्थाले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा ग्रामीण र स्वास्थ्य सेवाबाट तुलनात्मक रूपमा वञ्चित समुदायलाई लक्षित गरी मानवीय तथा परोपकारी कार्य गर्दै आएको जानकारी गराउनुभयो । उहाँले औषधि सङ्कलन तथा व्यवस्थापन बैंक स्थापना गर्ने प्रस्तावसमेत अघि सार्नुभयो ।

अध्यक्ष पाण्डेका अनुसार एनएमएसआरएसँगको सहकार्यमा विभिन्न प्रकारका औषधि, स्वास्थ्य सामग्री तथा आवश्यक चिकित्सा सामग्री सङ्कलन गरी कर्मफ्लाइट्सका ग्रामीण स्वास्थ्य कार्यक्रम, स्वास्थ्य शिविर तथा सामुदायिक स्वास्थ्य संस्थामार्फत आवश्यकताअनुसार समुदायमा पुर्‍याउन सकिनेछ ।

त्यसैगरी, कर्मफ्लाइट्सका निर्देशक प्रेमबहादुर कुँवरले ग्रामीण समुदायमा संस्थाले सञ्चालन गर्दै आएको स्वास्थ्य कार्यक्रमबारे जानकारी दिनुभयो ।

उहाँले दुर्गम क्षेत्रमा समग्र स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै स्थानीय समुदाय र सरकारसँगको समन्वयमा सामुदायिक स्वास्थ्य इकाइ तथा प्रसूति केन्द्र निर्माण र सञ्चालनमा सहयोग गर्दै आएको बताउनुभयो ।

कुँवरका अनुसार कर्मफ्लाइट्सले हालसम्म दुई ओटा सामुदायिक स्वास्थ्य इकाइ तथा प्रसूति केन्द्र निर्माण गरिसकेको छ ।

ती स्वास्थ्य संस्थामा नियमित सेवा सञ्चालनका लागि औषधि, स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मी तथा प्राविधिक समन्वय निरन्तर आवश्यक पर्ने भएकाले औषधि तथा स्वास्थ्य क्षेत्रसँग आबद्ध एनएमएसआरए पोखरा युनिटले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उहाँले बताउनुभयो ।

कर्मफ्लाइट्सले नेपाल सरकारअन्तर्गतका स्वास्थ्य तालिम केन्द्रहरूसँगको सहकार्यमा विशिष्टीकृत स्वास्थ्य तालिम सञ्चालनमा समेत सहयोग गर्दै आएको कुँवरले जानकारी दिनुभयो ।

दुर्गम बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गर्दा चिकित्सकीय परामर्श मात्र पर्याप्त नहुने उल्लेख गर्दै उहाँले औषधि, निदानात्मक सेवा, स्वास्थ्य सामग्री, प्राथमिक उपचार सामग्री तथा आवश्यक फलोअप सेवाको व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो ।

यसका लागि स्थानीय तह, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, औषधि व्यवसाय तथा सामाजिक संस्थाबिच समन्वय र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

अन्तरसंवादमा दुवै संस्थाबिच आगामी दिनमा औपचारिक संस्थागत सहकार्य र समझदारीपत्र (एमओयू) गर्ने विषयमा थप छलफल अघि बढाउने सहमति भएको छ ।

सम्भावित सहकार्यअन्तर्गत औषधि सङ्कलन, स्वास्थ्य सामग्री व्यवस्थापन, ग्रामीण स्वास्थ्य शिविर, सामुदायिक स्वास्थ्य संस्थालाई औषधि सहयोग तथा स्वास्थ्य सचेतना कार्यक्रमलाई प्राथमिकतामा राख्ने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा कर्मफ्लाइट्सका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद पाण्डेले एनएमएसआरएका पदाधिकारीहरूलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

कर्मफ्लाइट्सका अध्यक्ष कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव कुलप्रसाद अधिकारीले स्वागत मन्तव्यसहित संस्थाद्वारा सञ्चालित कार्यक्रमहरूको संक्षिप्त परिचय प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा एनएमएसआरए पोखरा युनिटका वरिष्ठ उपाध्यक्ष तोयनाथ देवकोटा, सचिव हिरामणि भुसाल (शर्मा), कोषाध्यक्ष महेश भण्डारी तथा सहसचिव खेमराज गिरीको उपस्थिति थियो ।

Author

सम्बन्धित समाचार