धनगढी । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।
बाजुरा जिल्ला अदालतका न्यायाधीश ताराप्रसाद डाँगीको इजलासले दुई दिनको सुनुवाइपछि २०८३ असोज १ गते थुनामा रहेका सात जनामध्ये ६ जनालाई जन्मकैदको सजाय सुनाएको हो ।
यही मुद्दामा प्रतिवादी बनाइएका १८ जनाले सफाइ पाएका छन् । अदालतले पुर्पक्षका लागि थुनामा रहेका धनराज थापा, जङ्ग भन्ने शेरबहादुर अयडी, खेमराज अयडी, सागर अयडी, लोकेश अयडी र जीवन अयडीलाई जन्मकैदको फैसला सुनाएको हो ।
२०७९ मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको क्रममा बाजुरामा चेतनको हत्या भएको थियो ।
बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका-७ स्थित नाटेश्वरी आधारभूत विद्यालय, खिरपाटा मदतानस्थलमा मतदानको दिन २०७९ मङ्सिर ४ गते सुरक्षाकर्मीले चलाएको गोली लागेर २५ वर्षीय सञ्जिव अयडीको मृत्यु घटनास्थलमा नै भएको थियो ।
सो क्रममा स्थानीय पर्शुराम पाध्याया, खडक ऐडी र प्रहरी हवल्दार कृष्ण कुँवर घाइते हुनुभएको थियो ।
अनेरास्ववियुका केन्द्रीय सदस्य त्रिवेणी नगरपालिका-७ का चेतन अयडीलाई नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरी गम्भीर घाइते बनाएकोमा मङ्सिर ४ गते राति मृत्यु भयो ।
कुटपिटबाट घाइते हुनुभएका अयडीलाई उपचारका लागि अछाम जिल्लाको बयालपाटा अस्पताल लगिएको थियो ।
अयडीको मृत्यु भइसकेको बयलपाटा अस्पतालका प्रमुख डाक्टर मन्दिप पाठकले बताउनु भएको थियो ।
सन्जिव अयडीको मृत्यु भएपश्चात नाटेश्वरी मतदान केन्द्रमा मतदाता र सुरक्षा टोलीबिच तनाव उत्पन्न भएको थियो ।
सुरक्षाकर्मीहरू विद्यालयको कोठामा बन्द रहेका र तनावलाई शान्त पार्न स्थानीय व्यक्ति भएको भनी सुरक्षा टोलीका प्रमुख इश्वर थापाले प्रहरी हवल्दार कृष्ण कुँवरलाई बाहिर पठाएपछि उहाँ स्थानीयको कुटपिटमा सख्त घाइते हुनुभएको थियो ।
निर्वाचनस्थल वरपर नेपाली कांग्रेस र एमालेका कार्यकर्ताहरूबिच भनाभन, कुटाकुट र भागाभागको स्थिति सिर्जना भएको थियो ।
त्यही बेला चेतन अयडीलाई मतदान स्थलबाट घर फर्केर आउँदा एक समूहले हिँडिरहेको बेलामा बाटोमा कुटपीट गरी गोडा टेक्न नसक्ने अवस्थामा पुर्याएको थियो ।
सोही अवस्थामा चेतनका भाइ र बहिनीले बोकेर उहाँलाई घर पुर्याउनुभएको थियो । मालकोटस्थित घरको कोठामा बसिरहेको बेला साँझ करिब साढे ६ बजेको समयमा ठूलो समूहमा आएका नेपाली कांग्रेसका कार्यकर्ताहरूले घरबाट घिसारेर बाहिर निकाली निर्घात कुटपिट गरेर चेतनको हत्या गरेका थिए ।
सुजाता अयडीले अध्ययन टोलीसँग के भन्नुभएको थियो ?
चेतन दाइ घाइते हुनु भएको हुँदा दाइलाई कोठामा सुताइरहेको समयमा नै कांग्रेसका कार्यकर्ताहरू सयौँ सङ्ख्यामा भेला भइ हातहतियार सहित आएर दाइलाई भित्रबाट तान्दै घिसारी घिसारी लगी मरणसन्न हुने गरी निर्मम ढङ्गले दाइलाई मारेका थिए । मेरो दाइले मैले सञ्जीवलाई मार्न लगाएको भए मलाई तपाईहरूले तरवारले काट्नु होला । मैले मार्न लगाएको होइन मलाई नमार भन्दा पनि कुकुर गधालाई कुटे जस्तै गरी कुटेका थिए । घर भित्रबाट तानेर ल्याउने पदम अयडी, कमल अयडी, सेर अयडी, खेम अयडीहरूले मेरो दाइलाई तान्दै लगेका थिए ।
मैले भिडियो बनाएकी छु । सबैजना मार्न पट्टी मात्रै लागेका थिए । बचाउने कोही पनि थिएनन् । सबैले मारमार मात्रै भन्थे । एक जनाले मेरो हातबाट फोन खोसेर लग्यो । उत्तानो पारी पिटेका थिए । पछि अर्कोले उल्टो पारेर पिट भनेका थिए । मृतक सञ्जीव अयडीको आमालाई बचाई दिनुहोस् भन्दा मेरो छोरालाई मार्न लगाउने यही हो यसलाई मार्नु पर्छ भनेकी थिइन् । उपचारको लागि अस्पताल लैजान लाग्दा गाडिवालालाई समेत डर धाकधम्की दिएर गाडीमा लैजान दिएनन् । गाडीवालालाई समेत पिट्ने धम्की दिएकाले गाडिवालाले समेत दाइलाई अस्पताल लिन मानेनन् । आर्मीको गाडी आएको थियो त्यसगाडीले पनि उपचारका लागि दाइलाई लैजान मानेन । सुरक्षा फौजले कुनै सहयोग गरेन । त्यतिबेलासम्म रातिको ११ः३० बजिसकेको थियो । ११ः३० बजेसम्म मेरो दाइको जिउ तातो नै थियो । नाडी चलिरहेको थियो । होसहवास भने केही थिएन । (घटनाको स्थलगत अध्ययनका क्रममा चेतन अयडीकी बहिनी सुजाता अयडीसँग गरिएको कुराकानीमा आधारित । घटनाको स्थलगत अध्ययन प्रतिवेदन इन्सेकले तयार पारेको हो ।)