मानव आवाज

२०८३ असोज २ गते
00: 00: 00
२०८३ असोज २ गते

सिन्धुलीमा वृक्षरोपणसँगै आयआर्जनको आधार विस्तार

सिन्धुली । सिन्धुलीमा वृक्षरोपण अभियान वनको हरियाली बढाउने कार्यमा मात्र सीमित नभई किसानको आम्दानी र स्थानीय अर्थतन्त्रसँग जोडिन थालेको छ ।

डिभिजन वन कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०८२/८३ मा निजी जग्गामा आँप, लिची, बोधिचित्त, एभोकाडो, टिमुर, लौठसल्लालगायत फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका हजारौँ बिरुवा वितरण गरेको जनाएको छ ।

कार्यालयका अनुसार कमलामाई नगरपालिकामा बोधिचित्त १ हजार १ सय ६०, आँप १ हजार ६ सय १० र लिची १ हजार ९ सय ८५ बिरुवा वितरण गरिएको छ ।

गोलन्जोर गाउँपालिकामा एभोकाडो १ हजार ६ सय ७५, टिमुर ८ सय ८०, दाँते ओखर ७ सय ५० र कागती ४ सय बिरुवा वितरण गरिएको छ ।

फिक्कल गाउँपालिकामा लौठसल्ला ३ हजार २ सय ७०, एभोकाडो १ हजार २ सय र बोधिचित्त १ हजार १ सय ४० तथा दुधौली नगरपालिकामा आँप २ सय २० र लिची ४ सय २५ बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ ।

बजार क्षेत्रका निजी उपभोक्तालाई समेत लौठसल्ला, एभोकाडो, बोधिचित्त, आँप र लिचीका हजारौँ बिरुवा वितरण गरिएको छ ।

सरकारी नर्सरीबाट डिभिजन वन नर्सरीमा २० हजार र रानीवास नर्सरीमा १२ हजार गरी ३२ हजार बिरुवा उत्पादन तथा वितरण गरिएको छ ।

सामुदायिक तथा कबुलियती वनमा पनि वृक्षरोपण जारी रहेको कार्यालयले जनाएको छ। गोलन्जोरमा मात्रै १७ हजार ५ सय अम्रिसो तथा जिल्लाभर ११ हजार ५५ बाँस, ८ हजार ३५ तेजपात र ५ हजार ७ सय ६५ जडीबुटीजन्य बिरुवा रोपिएको छ ।

डिभिजन वन अधिकृत रामकुमार भण्डारीले फलफूल, बोधिचित्त, टिमुर र लौठसल्लाजस्ता प्रजातिले किसानको आम्दानीसँगै स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउन सक्ने बताउनुभयो ।

उहाँले बिरुवा वितरणसँगै नियमित स्याहार, प्राविधिक सहयोग र बजार व्यवस्थापन आवश्यक रहेको बताउनुभयो ।

उचित संरक्षण, उत्पादन व्यवस्थापन र बजारको सुनिश्चितता हुन सके वृक्षरोपणले सिन्धुलीमा हरियालीसँगै दीर्घकालीन आयआर्जनको आधार तयार गर्न सक्ने देखिएको छ ।

Author

सम्बन्धित समाचार