मानव आवाज

२०८३ असोज १ गते
00: 00: 00
२०८३ असोज १ गते

बाढीपीडितका लागि बैदाम आमा समूहद्वारा सहयोग

पोखरा । भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पोखरा महानगरपालिका-६, बैदाममा आबद्ध महिला तथा आमा समूहहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८ लाख ९ हजार ६ सय ८५ रुपियाँ सहयोग गरेका छन् ।

महिला सञ्जाल बैदामकी संयोजक बबिता मल्लका अनुसार विभिन्न महिला तथा आमा समूहबाट सङ्कलित उक्त रकम २०८३ भदौ ३१ गते कोषमा जम्मा गरिएको हो ।

रकम जम्मा गरेको बैङ्क भौचरसमेत जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

प्राकृतिक विपद्को घडीमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै राहत कोषमा सहयोग गरेकोमा प्रमुख जिल्ला अधिकारी गुरुङले महिला तथा आमा समूहलाई धन्यवाद दिनुभएको छ ।  

विपत्तिले धनीगरिब, उमेर वा अवस्था नहेर्ने भएकाले पीडितको आँसु पुछ्ने, घाउमा मलम लगाउने र दुःखमा साथ दिने मानवीय दायित्व पूरा गर्ने उद्देश्यले सहयोग गरिएको संयोजक मल्लले बताउनुभयो ।

उहाँका अनुसार महिला सञ्जाल बैदामसहित सञ्जालमा आबद्ध ११ ओटा महिला तथा आमा समूहले उक्त रकम सङ्कलन गरेका हुन् ।

सहयोग गर्ने समूहहरूमा महिला सञ्जाल बैदामबाट ११ हजार १ सय ११ रुपियाँ, नवप्रभात आमा समूहबाट २६ हजार रुपियाँ, जगदम्बा आमा समूहबाट १ लाख ७ सय ९५ रुपियाँ, बैदाम महिला विकास समाजबाट ६५ हजार १ सय ११ रुपियाँ, खहरे आमा समूहबाट २१ हजार रुपियाँ, अन्नपूर्ण आमा समूहबाट १ लाख १ हजार १ सय ११ रुपियाँ र जरेवर उज्ज्वल दिदीबहिनी समूहबाट ५५ हजार ५ सय ५५ रुपियाँ सहयोग गरिएको छ ।

त्यसैगरी नमुना आमा समूहले १ लाख ११ हजार २ सय २५ रुपियाँ, धादिङ त्रिपुरा वाराही महिला समूहले १ लाख १५ हजार ५ सय ५५ रुपियाँ, मितेरी नारी समूहले १ लाख १ सय ११ रुपियाँ र बंगलादी आमा समूहले १ लाख १ हजार १ सय ११ रुपियाँ सहयोग गरेका छन् ।

सहयोग रकम सङ्कलनमा सम्बन्धित समूहका अध्यक्ष तथा पदाधिकारीहरूको समन्वय रहेको थियो । विपद्का बेला मानवीय संवेदना र सामाजिक एकता प्रदर्शन गर्दै पीडित परिवारलाई साथ दिने उद्देश्यले सहयोग गरिएको महिला सञ्जालकी संयोजक मल्लले बताउनुभयो ।

यसैबिच, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पनि रसुवामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ७६ हजार ३ सय १९ रुपियाँ सहयोग गरेको छ ।

नाट्टा गण्डकी प्रदेशकी अध्यक्ष सङ्गिता पौडेलका अनुसार उक्त रकम जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत कोषमा दाखिला गरिएको हो ।

त्यसैगरी, कसैलाई पनि पछाडि नपारौँ भन्ने नारा सहित  २०५६ सालमा स्थापित सामाजिक संस्था पोखरा महानगरपालिका-६ बुलौदी अवस्थित कोपिला नेपालले बाढीपहिरोबाट प्रभावितहरूको राहतका लागि  जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १ सय १ रुपियाँ सहयोग गरेको संस्थापक अध्यक्ष तिर्थबहादुर थापाले जानकारी दिनुभयो ।

Author

सम्बन्धित समाचार