सिन्धुली । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सिन्धुलीका शैक्षिक संस्था र धार्मिक समुदायले आर्थिक सहयोग गरेका छन्। सिन्धुलीमाढीस्थित सिद्धस्थली आवासीय माध्यमिक विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को राहत कोषमार्फत १ लाख ३७ हजार २ सय २२ रुपियाँ सहयोग गरेका छन् ।
सिद्धस्थली विद्यालयका प्रिन्सिपल ओम प्रधानका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २२ हजार २ सय २२ रुपियाँ र प्याब्सनको केन्द्रीय राहत कोषमा १५ हजार रुपियाँ जम्मा गरिएको छ ।
विद्यालयले सङ्कलित रकमको बैङ्क भौचर जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पुगेर प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई औपचारिक रूपमा हस्तान्तरण गरेको जनाएको छ ।
प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकको उद्धार तथा पुनःस्थापनाका लागि सबै पक्ष एकजुट हुनुपर्ने भन्दै प्रिन्सिपल प्रधानले सङ्कटको समयमा प्रभावित नागरिकलाई सानो भए पनि राहत पुगोस् भन्ने उद्देश्यले विद्यालयले सहयोग रकम सङ्कलन गरेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले विपद्को कठिन समयमा शैक्षिक संस्थाले देखाएको मानवीय भावना प्रशंसनीय रहेको बताउनुभयो ।
उहाँले यस्ता सामाजिक कार्यले राज्यको राहत तथा उद्धार प्रयासलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
जिल्लाका विभिन्न विद्यालय, व्यावसायिक सङ्घसंस्था तथा सर्वसाधारणबाट समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम सङ्कलन भइरहेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।
यसैबिच, रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि एजीएन जिल्ला समिति सिन्धुलीअन्तर्गतका चर्चहरूले २ लाख ४ हजार ५ सय ६० रुपियाँ आर्थिक सहयोग गरेका छन् ।
एजीएन जिल्ला समिति सिन्धुलीका अनुसार जिल्लामा आबद्ध ३३ ओटा चर्चमध्ये २६ ओटा चर्चमा सहभागी विश्वासी सदस्यबाट उक्त रकम सङ्कलन गरिएको हो । सङ्कलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको समितिले जनाएको छ ।
समितिका अध्यक्ष कुमार बुढाथोकीले जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई पठाएको पत्रमार्फत राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको प्रधानमन्त्री राहत कोषको खातामा रकम जम्मा गरिएको जानकारी दिनुभएको छ ।
समितिले रकम जम्मा गरिएको बैङ्क भौचरको प्रमाणित प्रतिलिपिसमेत जिल्ला प्रशासन कार्यालयमा बुझाएको जनाएको छ ।