पोखरा । पोखरा महानगरपालिकन-२२, पुम्दीभुम्दीमा २०८३ असोज २४ गते आयोजना हुने तेस्रो पुम्दीभुम्दी खुला पर्वतीय दौड प्रतियोगिता-२०८३ सफल बनाउन स्थानीय जनप्रतिनिधि, विद्यालय, युवा क्लब, टोल विकास संस्था, व्यवसायी तथा विभिन्न संघसंस्था एकजुट भएका छन् ।
‘खेल पर्यटन प्रवर्धनमा पुम्दीभुम्दी पर्वतीय दौड’ भन्ने नारासहित पोखरा क्लिक र पोखरा प्रवर्धन केन्द्रको आयोजनामा हुने प्रतियोगिताका सन्दर्भमा २०८३ भदौ ३१ गते आयोजित छलफलमा स्थानीय सरोकारवालाले प्रतियोगिताका लागि स्वयम्सेवक परिचालन, धावक सहभागिता, स्वास्थ्य सेवा, खानेपानी, चेकपोइन्ट तथा बाटोमा स्वागतसत्कारलगायतका व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
पोखरा-२२ का वडाध्यक्ष हिमलाल बरालले विगतदेखि दिँदै आएको सहयोगलाई निरन्तरता दिइने बताउँदै कृषि र पर्यटनलाई जोडेर क्षेत्रको आर्थिक विकास गर्न सकिने धारणा राख्नुभयो ।
उहाँका अनुसार ‘राउन्ड फेवा, भ्यु फेवा’ फुटट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ भने एडीबीको सहकार्यमा करिब ५२ करोड रुपियाँ बराबरका पदमार्ग निर्माण अघि बढेको छ ।
विश्व शान्ति स्तुप समितिका सचिव दुर्गबहादुर गुरुङ, होमस्टे महासङ्घका केन्द्रीय उपाध्यक्ष प्रकाश गुरुङ, स्वास्थ्य चौकीका इन्चार्ज विदुर रेग्मी, विभिन्न विद्यालयका प्रतिनिधि तथा युवा क्लबका पदाधिकारीले प्रतियोगिता सफल बनाउन आआफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले आठ किलोमिटर दूरीको दौडलाई पुम्दीभुम्दीको प्राकृतिक सौन्दर्य र पर्यटनसँग जोडेर नयाँ खेल पर्यटन ब्रान्डका रूपमा विकास गर्न सकिने बताउनुभयो ।
संयोजक दीननाथ बरालका अनुसार प्रतियोगितामा खुलातर्फसहित ६ ओटा विधामा प्रतिस्पर्धा हुनेछ ।
खेलाडीका लागि केही दिनभित्रै पोखरा क्लिक अनलाइन पोर्टलमार्फत आवेदन खुला गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको हस्पिटालिटी पार्टनर म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स, मेडिकल पार्टनर नेलम्बो नेपाल र अफिसियल टेलिभिजन पोखरा टेलिभिजन रहेका छन् ।
आयोजकका अनुसार प्रतियोगितालाई परिचय एड्भर्टाइजिङ, वडा युवा परिषद्, स्थानीय क्लब, व्यवसायी तथा विभिन्न सङ्घसंस्थाको सहयोग रहेको छ ।
प्रतियोगिता सफल बनाउन परिचय एड्भर्टाइजिङ, पोखरा महानगरपालिका-२२ को वडा युवा परिषद्, स्थानीय क्लब, व्यवसायी तथा विभिन्न सङ्घसंस्थाको सहयोग रहेको संयोजक बरालले जानकारी दिनु भयो ।
प्रतियोगितालाई सफल बनाउन स्थानीय जनप्रतिनिधि, विभिन्न सङ्घसंस्था, विद्यालय, युवा क्लब, टोल विकास संस्था, व्यवसायी तथा स्थानीय सरोकारवालाहरू एकजुट भएका छन् ।