पोखरा । हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा जलवायुसम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन शुरु भएको छ । घरपझोङ गाउँपालिकाको आयोजनामा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ गरिएको हो ।
सम्मेलनमा भाग लिन ४ सय २० भन्दा धेरै स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधिसहित दुई हजार भन्दा धेरै अतिथि सहभागी रहेको आयोजकले जनाएको छ ।
गाउँपालिकाको मुख्य राजमार्ग सडक तथा भित्री सडकमा सडक बत्ती जडान गरी झिलीमिली पारिएको छ ।
सम्मेलनस्थलमा २८ फिट उचाइको जलवायु परिवर्तनको असरसम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ ।
यस्तै, मुस्ताङका कृषि उत्पादनको प्रचारप्रसार गर्ने उद्देश्यका साथ ५० भन्दा धेरै स्टल राखिएको गाउँपालिकाको कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जलवायु परिवर्तनले हिमाल, पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलनलगायतका विषयमा साझा धारण तय गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न मुस्ताङमा पहिलोपटक ऐतिहासिक रूपमा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ आयोजना गरिएको बताउनुभयो ।
सम्मेलनका लागि मुस्ताङका अन्य चार पालिकाले पनि सहयोग गरेका छन् । घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले सम्मेलन ‘साझा पृथ्वी, साझा दायित्व : जलवायु न्यायमा सामुहिक ऐक्यवद्धता’ साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ ।
सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गर्नुभएको छ । (फोटोः रासस)