पोखरा । जिल्ला अनुगमन समिति, कास्कीले पोखरा महानगरपालिका-६ स्थित फेवातालमा सञ्चालन भइरहेका डुङ्गा तथा जल पर्यटनसम्बन्धी गतिविधिको स्थलगत अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतम, वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब निरीक्षक यमप्रसाद गौतम तथा सञ्चारकर्मीसहितको टोलीले २०८३ भदौ २९ गते फेवातालमा अनुगमन गरेको हो ।
अनुगमनपछि सहायक प्रमुख जिल्ला अधिकारी बरालले फेवातालमा सञ्चालित डुङ्गा व्यवसायको अनुगमन औपचारिकतामा मात्र सीमित नभई पोखराको जल पर्यटनलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले गरिएको बताउनुभयो ।
स्थानीयवासीबाट लिखित तथा मौखिक रूपमा गुनासो प्राप्त हुनुका साथै सार्वजनिक कार्यक्रमहरूमार्फत समेत फेवातालमा सञ्चालित डुङ्गा व्यवसाय तथा जल पर्यटन गतिविधिबारे गुनासो आएपछि प्रशासनले अनुगमनलाई तीव्रता दिएको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र फेवातालमा बढ्दो जल पर्यटनलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन स्थानीय प्रशासनले आवश्यक कदम चाल्ने बरालले बताउनुभयो ।
पछिल्लो समय फेवातालमा कायाकिङ, सर्फिङ, र्याफ्टिङ, प्याडल बोर्डलगायतका जल खेलकुद तथा पर्यटन गतिविधि बढ्दै गएकाले सुरक्षा सतर्कता र कानुनी परिपालनालाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ ।
जल पर्यटनलाई सुरक्षित र भरपर्दो बनाउन नागरिक, व्यवसायी र प्रशासनबीच सहकार्य आवश्यक रहेको बरालले बताउनुभयो ।
फेवातालमा हुने जल पर्यटन गतिविधिबाट हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिने उहाँले स्पष्ट पार्नुभयो ।
अनुगमनका क्रममा आचारसंहिता तथा निर्धारित मापदण्डविपरीत सञ्चालन भएका डुङ्गा व्यवसायीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ ।
व्यवसायीहरूले मर्यादित रूपमा आफ्नो पेसा तथा व्यवसाय सञ्चालन गर्दै सेवाग्राहीको सुरक्षा र कानुनी प्रक्रियालाई प्राथमिकतामा राख्नुपर्ने बरालले बताउनुभयो ।

नियमविपरीत सञ्चालन भएका व्यवसायलाई नियमन गरी संलग्नलाई कानुनबमोजिम कारबाही गरिने उहाँले चेतावनीसमेत दिनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले पर्यटन व्यवसाय नाफा आर्जनमा मात्र केन्द्रित नभई नागरिक तथा पर्यटकको जीवन सुरक्षाप्रति समेत पूर्ण रूपमा उत्तरदायी हुनुपर्ने बताउनुभयो । उहाँले कानुनको परिधिभित्र रहेर मात्र व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।
प्रशासनले मात्र सबै विषय व्यवस्थापन गर्न नसक्ने भएकाले सेवाग्राही तथा नागरिक पनि सचेत हुनुपर्ने गौतमको भनाइ छ ।
पर्यटन गतिविधिमा सहभागी हुँदा आवश्यक सुरक्षा मापदण्डबारे जानकारी लिन र सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।
फेवा डुङ्गा व्यवसायी सङ्गठन पोखराका अध्यक्ष बलराम गिरीले अनुगमनलाई औपचारिकतामा मात्र सीमित नराखी ठोस निष्कर्षका आधारमा नियमन प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
कानुनविपरीत कार्य गर्नेहरूलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउन उहाँले आग्रह गर्नुभयो ।
पोखरालाई सुरक्षित तथा विश्वस्तरीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न प्रशासन, व्यवसायी, स्थानीयवासी तथा पर्यटक सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा अनुगमनका क्रममा जोड दिइएको थियो ।