मानव आवाज

२०८३ भदौ २८ गते
00: 00: 00
२०८३ भदौ २८ गते

११ घण्टाको प्रयासपछि डल्लीकाली भैंसीको सफल उपचार

गुल्मी । गुल्मी दरबार गाउँपालिका-१, बलिथुममा प्रसव पीडामा रहेको डल्लीकाली भैंसीको ११ घण्टाको निरन्तर प्रयासपछि सफलतापूर्वक उपचार गरिएको छ ।

पशु स्वास्थ्यकर्मी नारायण पन्थीको नेतृत्वमा प्राविधिक किरण सापकोटासहितको टोलीले भैंसीको उपचार गरेको हो ।

२०८३ भदौ २६ गते राति उपचारपछि भैंसीले स्वस्थ पाडी जन्माएको पशुस्वास्थ्यकर्मी पन्थीले जानकारी दिनुभयो ।

भैंसीमा डिस्टोकिया (कठिन प्रसव) को समस्या देखिएको थियो । पाठेघरमा बच्चा अड्किएपछि प्राविधिक टोलीको सहयोगमा सफलतापूर्वक पाडी निकालिएको हो ।

अहिले आमा भैंसी र पाडी दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको र भैंसीले दुधसमेत दिन थालेको पन्थीले बताउनुभयो ।

उपचारका क्रममा पशुस्वास्थ्यकर्मी तथा प्राविधिकहरूले विभिन्न चुनौती सामना गर्नुपरेको पन्थीको भनाइ छ ।

उहाँले भन्नुभयो-“कृषकको त कम्तीमा हामी प्राविधिकप्रति आशा र भरोसा हुँदो रहेछ । तर हामी प्राविधिकले प्राविधिक रूपमा आवश्यक सहयोग कहाँबाट माग्ने भन्ने समस्या छ ।”

पशु स्वास्थ्यकर्मी नारायण पन्थी

उहाँका अनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा पर्याप्त जनशक्ति नहुँदा पशु उपचार सेवामा समस्या हुने गरेको छ । उपचारका लागि आवश्यक औषधिको अभाव पनि उस्तै रहेको उहाँले बताउनुभयो ।

भैंसीका धनी गुल्मी दरबार गाउँपालिका-१, बलिथुमका कृषक रामबहादुर रायमाझी र सरिता रायमाझीको परिवारमा सफल उपचारपछि खुसी छाएको छ ।

रायमाझी परिवारले भैंसी र पाडीको सफल उपचार तथा प्रसव गराउन सहयोग गर्ने प्राविधिक टोलीलाई धन्यवाद दिँदै आभार व्यक्त गरेको छ ।

Author

सम्बन्धित समाचार