सिन्धुली । कमलामाई नगरपालिका-२, ढुङ्ग्रेभञ्ज्याङमा रहेको ऐतिहासिक तथा प्रसिद्ध भद्रकालीमाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ ।
भाकल गरी भद्रकालीमाईको पूजा तथा आराधना गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका कारण मन्दिरमा भक्तजनको चहलपहल बढेको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले बताउनुभयो ।
स्थानीयका अनुसार भद्रकालीमाईलाई सिन्धुलीका प्रसिद्ध कालीमाई र कमलामाईजस्तै शक्तिस्वरूप देवीका रूपमा श्रद्धा गर्ने गरिन्छ । विशेषगरी प्रत्येक वर्ष दसैँको फूलपातीका दिन यहाँ विशेष पूजाआजा हुने गरेको छ ।
आफ्नो मनोकाङ्क्षा पूरा होस्, पारिवारिक सुख-शान्ति कायम होस् तथा विभिन्न समस्या समाधान होऊन् भन्ने कामनासहित टाढाटाढाबाट समेत भक्तजन मन्दिरमा आउने गरेका छन् ।
बीपी राजमार्गसँगै जोडिएको स्थानमा मन्दिर रहेकाले धार्मिक आस्थाका साथै पर्यटकीय दृष्टिले समेत भद्रकालीमाई क्षेत्रको महत्त्व बढ्दै गएको नगर प्रमुख पोखरेलको भनाइ छ ।
मन्दिर परिसरमा नियमित पूजाआराधना हुने गरेको छ भने विशेष अवसरमा भक्तजनको भीड बढ्ने गरेको पाइन्छ ।
स्थानीय तथा श्रद्धालु अच्युतम खनालले भद्रकालीमाईप्रति स्थानीयवासीको लामो समयदेखि आस्था रहँदै आएको बताउनुभयो ।
पछिल्लो समय मन्दिरको चर्चा बढेसँगै अन्य जिल्लाबाट समेत दर्शनार्थी आउन थालेको उहाँले बताउनुभयो ।
धार्मिक आस्थासँगै मन्दिरलाई व्यवस्थित रूपमा संरक्षण, विकास तथा प्रचारप्रसार गर्न सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने खनालको भनाइ छ ।
मन्दिरका पुजारी चेतबहादुर गुर्मछानले भद्रकालीमाईप्रति भक्तजनको विश्वास र आस्था बढ्दै गएको बताउनुभयो ।
उहाँका अनुसार विभिन्न मनोकाङ्क्षा बोकेर आउने भक्तजनले मन्दिरमा पूजा तथा भाकल गर्ने गरेका छन् ।
भद्रकालीमाई मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्त्व संरक्षण गर्दै आवश्यक पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके सिन्धुलीगढी भ्रमणमा आउने पर्यटकका लागि समेत यो क्षेत्र थप आकर्षणको केन्द्र बन्न सक्ने कमलामाई नगरपालिकाकी नगर उपप्रमुख मञ्जु देवकोटाले बताउनुभयो ।