पोखरा । राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा श्रमिक बालबालिकाहरूको सामाजिक एकीकरण मञ्च (चिल्ड्रेन-नेपाल)को आयोजनामा ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने मूल नाराका साथ ‘बालबालिका र वातावरण’ विषयक चित्रकला प्रतियोगिता पोखरामा सम्पन्न भएको छ ।
२०८३ भदौ २६ गते आयोजित प्रतियोगितामा आर्थिक तथा सामाजिक रूपमा पछाडि पारिएका, दलित, जनजाति, विपन्न तथा जोखिममा रहेका बालबालिकाहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा ८ ओटा विद्यालयका ४८ जना बालबालिकाले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा छोरेपाटन माध्यमिक विद्यालयकी रेनुका नेपाली पहिलो, पार्दी माध्यमिक विद्यालयकी प्रतिज्ञा नेपाली दोस्रो, बाराही माध्यमिक विद्यालयकी क्यारिस्का नेपाली तेस्रो र सरस्वती आधारभूत विद्यालयकी सृष्टि विकले सान्त्वना स्थान हासिल गर्नुभएको छ ।
चिल्ड्रेन-नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले बालबालिकाले ‘बालबालिका र वातावरण’ विषयमा वातावरण संरक्षण, हरियाली प्रवर्धन, स्वच्छता तथा प्रकृति संरक्षणसम्बन्धी आफ्ना सिर्जनात्मक विचारलाई चित्रमार्फत प्रस्तुत गरेको बताउनुभयो ।
उहाँले बालबालिकाको सिर्जनात्मकता, सहभागिता र प्रतिभा प्रस्फुटनका लागि संस्थाले यस्ता अतिरिक्त तथा सिर्जनात्मक गतिविधिलाई निरन्तर प्रोत्साहन गर्दै आएको बताउनुभयो ।
प्रतियोगितामा स्थान हासिल गर्नु मात्र महत्वपूर्ण नभई बालबालिकाले सक्रिय रूपमा सहभागी भएर आफ्ना विचार, भावना र सिर्जनात्मकता प्रस्तुत गर्नु अझ महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।
यस्ता कार्यक्रमले बालबालिकालाई आफ्ना आवाज र प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्दै शर्माले बालबालिकाको सर्वाङ्गीण विकासका लागि सिर्जनात्मक गतिविधिको आवश्यकता रहेको बताउनुभयो ।
त्यसैगरी, कार्यक्रम निर्देशक शिव शर्मा चापागाईंले बालबालिका र वातावरणबीचको सम्बन्ध अत्यन्त महत्वपूर्ण रहेको बताउँदै वातावरण संरक्षणमा बालबालिकाको भूमिका र सहभागितालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
चित्रकलाजस्ता सिर्जनात्मक माध्यमबाट बालबालिकाले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सुरक्षित र स्वच्छ वातावरण निर्माणसम्बन्धी आफ्ना सोच र सन्देश प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने उहाँले बताउनुभयो ।
कार्यक्रम अधिकृत रमेश सुवेदीले बालबालिकामा वातावरणसम्बन्धी चेतना अभिवृद्धि गर्नु, वातावरणप्रति सकारात्मक सोच विकास गराउनु, संरक्षणको सन्देश प्रवाह गर्न प्रोत्साहित गर्नु, हरियाली तथा सुरक्षित वातावरण निर्माणतर्फ प्रेरित गर्नु, उनीहरूको सिर्जनात्मक तथा कलात्मक क्षमताको विकास गर्नु र बालबालिकाका आवाज तथा विचारलाई प्रोत्साहन गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
चिल्ड्रेन-नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बाल क्लबकी सचिव क्यारिस्का नेपालीले गर्नुभएको थियो ।