काठमाडौँ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
१९२३ साल भदौ कृष्ण कुशे औँसीका दिन जन्मेर १९५३ साल भदौ कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याउनुभएको थियो ।
युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थियो । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुवात भएको मानिन्छ ।
मोतिरामको चर्चित गजल
यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन्,
उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन् ।
यसो भन्छौ त फल्फुल्मा, उसो भन्छौ त जल्थल्मा,
जता हेर्यो उतै मेरा, नजरमा राम प्यारा छन् ।
त्रिलोक चौधै भुवनमाहाँ प्रभु व्यापक जहाँ ताहाँ,
कहाँ सम्मन भनूँ याहाँ, सबैमा राम प्यारा छन् ।
रसीलो रामको नाउ भजन्, तिनको सधैँ गाउ,
दरस्मो हरबखत पाउ, दयालू राम प्यारा छन् ।
पियारा भै हरी मेरा सधैँ मनमा रहुन् डेरा,
सबै संसारले भन्छन् र मोतीराम प्यारा छन् ।